न्युयोर्क सिटीमा वर्क परमिट र ग्रिनकार्ड हुनेलाई पनि मताधिकार दिने बिल आज पारित हुने


प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार

न्युयोर्क सिटीमा गैर नागरिकलाई पनि पनि मताधिकार दिने प्रावधानसहितको बिल आज पारित हुने तय भएको छ । न्युयोर्क सिटी काउन्सिलले न्युयोर्क सिटीमा बस्ने झण्डै ६ लाख ५० हजार ग्रिनकार्डवाहकसहित ८ लाख गैर नागरिकहरुलाई समेत स्थानीय चुनावमा मताधिकार दिने प्रावधान पारित गर्ने भएको छ । देशनिकाला हुनबाट संरक्षण प्रदान गरिएकाहरुले समेत मताधिकार पाउनेछन् ।

न्युयोर्क सिटीमा कम्तीमा ३० दिन बसोबास गरेका ग्रिनकार्डवाहक, वर्क परमिट हुनेहरु र डाका हुनेहरुले मताधिकार पाउने प्रावधान बिलमा रहेको छ । यदि उनीहरुले कर तिर्छन् भने उनीहरुले आफ्ना नेतापनि छान्न पाउनुपर्ने तर्कका साथ यो बिल ल्याइएको हो । यो बिल पारित भएमा आगामी जनवरी १ बाट कार्यान्वयनमा आउनेछ ।

यो बिल भिटो प्रुफ बहुमतबाट पारित हुने भएको छ । बिलका पक्षमा ५१ जनामध्ये ३५ जना काउन्सिल सदस्यहरु रहेकाले यो बिललाई मेयरले भिटो प्रयोग गरेर रोक्न नसक्ने देखिएको छ ।

सिटी काउन्सिलबाट यो प्रावधान पारित भएपछि न्युयोर्क सिटीमा मेयर, सिटी काउन्सिल सदस्य लगायतका पदहरुमा गैर नागरिकले समेत मतदान गर्न पाउनेछन् । तर राज्य र संघीय स्तरका चुनावमा भने मतदान गर्न पाउनेछैनन् । यो प्रावधानले भिटो पु्रफ बहुमत प्राप्त गरिसकेको छ ।

सन् २०१८ को रिपोर्ट अनुशार न्युयोर्क सिटीभित्र ६ लाख ६० हजार ग्रिनकार्डवाहक रहेका छन् । यो बिल पारित भएमा न्युयोर्क सिटीभित्र बस्ने ठूलो संख्यामा नेपाली ग्रिनकार्डवाहकसमेत मताधिकारका लागि योग्य हुनेछन् । यो प्रावधानले झण्डै ८ लाखलाई समेट्ने अनुमान गरिएको छ ।

नेपाली भाषी समुदाय न्युयोर्कमा उदयमान अल्पसंख्यक भएपनि झण्डै ५० हजार न्युयोर्क बासी नेपालीहरुमध्ये झण्डै ५ प्रतिशतमा मात्र मताधिकार रहेको छ । यदि बिल पारित भएमा बहुसंख्यक नेपालीहरु प्रजातान्त्रिक प्रकृयामा सहभागी हुन योग्य हुनेछन् ।

न्युयोर्क सिटीमा गैर नागरिकलाई समेत मताधिकार प्राप्त हुनुपर्ने विषयमा लामोसमयदेखि वकालत हुँदै आएको छ । सिटी काउन्सिलम्यान यदानिस रोड्रिगेजले यो विधेयकको स्पोन्सर गरेका हुन् । रोड्रिगेज डोमेनिक रिपब्लिकबाट अमेरिका आएका आप्रवासी हुन् ।

रोड्रिगेज आफै सन् १९८३ मा ग्रिनकार्डसहित अमेरिका आएका थिए भने सन् २००० मा अमेरिकी नागरिकता लिएका थिए । यो बीचमा उनले डिसवासरदेखि ट्याक्सी चालकसम्मको काम गरेर सिटीलाई ट्याक्स तिरेका थिए तर चुनावी प्रकृयामा सहभागी हुन पाएका थिएनन् ।

यसप्रकारको विधेयक सिटी काउन्सिलमा ल्याइएको यो नै पहिलोपटक भने होइन । सन् २००९ र सन् २०१३ मा पनि यो बिल प्रस्ताव गरिएको थियो । तर यसपटक भने बिल पारित हुने तय भएको छ । बिल पारित भएपछि सन् २०२२ मा हुने स्थानीय निर्वाचनमा ग्रिनकार्ड वाहक र वर्क परमिट हुनेहरुले पनि मतदान गर्न पाउने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com