मलेसियामा बन्दै विश्वको दोश्रो अग्लो भवन, सांघाई टावरभन्दा अग्लो, यस्तो छ संरचना


प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार

विश्वको दोश्रो अग्लो भवन मलेसियामा बन्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बन्दै गरेको ११८ तले उक्त भवन सांघाई टावरभन्दा पनि अग्लो हुनेछ ।

अर्को बर्ष निर्माण सम्पन्न हुने यो भवन दुबईको बुर्ज खलिफापछि सबैभन्दा अग्लो भवन हुनेछ । अहिले विश्वको सबैभन्दा अग्लो भवन २७१७ फिट अग्लो दुबईको बुर्ज खलिफा भवन हो ।

दोश्रोमा सांघाई टावर रहेकोमा मलेसियाको भवन निर्माण पूरा भएपछि सांघाई टावर तेश्रो अग्लो भवन हुनेछ । मलेसियामा दोश्रो अग्लो भवनको निर्माण हुनु इन्जिनियरिङका दृष्टिकोणलेमात्र नभई विश्वको आधुनिक र विकशित देशमा मलेसियाको अवस्था सशक्त बनाउन ठूलो उपलब्धी रहेको प्रधानमन्त्री इस्माइल साबरी याकूबले बताए ।

निर्माणाधिन टावर । कभर तस्वीरमा निर्माण सम्पन्न भइसकेपछि देखिने टावरको नमुना ।

भवनको आधाभन्दा धेरै भागमा कार्यालयहरु रहनेछन् । भवनमा मल, मस्जिद, पार्क हायत होटल र दक्षिणपूर्वी एसियाको सबैभन्दा उच्च अवलोकन स्थल समेत हुनेछ । ३ दशमलव १ मिलियन स्कायर फिट जमिन ओगटेको यो भवनको भूईतलामा रहेको ४ एकड जमिनमा पार्क र सार्वजनिक स्थल रहनेछ ।

परियोजनाको पछाडि रहेका अष्ट्रेलियन वास्तुविद फेन्डर कात्सालिडिसले भवनको अग्रभागमा रहेको त्रिकोणीय सिसाको भाग मलेशियन कला र शिल्पमा पाइने ढाँचाहरूबाट प्रेरित रहेको बताएका छन् । सन् २०१० मा घोषणा गरिएको यो भवन निर्माण परियोजनाको सुरुवात ५ बर्ष अगाडि गरिएको थियो ।

भवन यसैबर्ष निर्माण सम्पन्न भएर खुला हुने योजना रहेपनि कोरोना महामारीका कारण लगाइएका प्रतिबन्धहरुका कारण निर्माण कार्य ढिलो भएको हो । मलेसियाको राजधानीमा बनेका आधुनिक भवनहरुका कारण पछिल्ला बर्षमा क्वालालम्पुरको मुहार नै बदलिएको छ । यो शहर विश्वमै तेह्रौं अग्लो शहर हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com