साउथ क्यारोलिनामा नक्कली भ्याक्सिन कार्ड बनाउने नर्सविरुद्ध २० बर्ष जेल सजायका लागि अभियोग


प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार

अमेरिकाको साउथ क्यारोलिनामा नक्कली भ्याक्सिन कार्ड बनाउने नर्सविरुद्ध २० बर्ष जेल सजायका हुनसक्नेगरी अभियोग लगाइएको छ । ५३ बर्षकी ट्यामी म्याकडोनाल्ड नामकी ती नर्सले गत जुन र जुलाईमा भ्याक्सिन नलगाएकाहरुलाई समेत भ्याक्सिन लगाएको विवरण उल्लेख गरेर सीडीसीको कार्ड दिएकी थिइन् ।

उनीबिरुद्ध संघीय एजेन्टसँग झुठो बोलेको समेत अभियोग लगाइएको छ । संघीय अधिकारीहरुले गत अक्टोबरमा यसबारे उनलाई प्रश्नहरु सोधेका थिए । उनले व्यक्तिगत रुपमा नै सीडीसीको भ्याक्सिन कार्डमा भ्याक्सिन नलगाएका व्यक्तिका विवरणहरु र लट नम्बरहरु उल्लेख गरेको अभियोग लगाइएको छ ।

म्याकडोनल्डबिरुद्ध नक्कली कागजात बनाएको दुईवटा अभियोग र संघीय अभियोजनकर्ताहरुलाई ढाँटेको एउटा अभियोग लगाइएको छ । उनीबिरुद्ध शुक्रबार औपचारिक रुपमा अभियोग लगाइएको थियो भने १० हजार डलर धरौटी तोकिएको छ । उनले आफूबिरुद्धका सबै अभियोग अस्वीकार गरेकी छिन् ।

भ्याक्सिन नलगाएका व्यक्तिलाई भ्याक्सिन लगाएको कार्ड प्रदान गर्दा साउथ क्यारोलिनाका जनताका लागि प्रत्यक्ष खतरा उत्पन्न भएको अभियोजनकर्ताहरुको भनाई छ । म्याकडोनल्डबिरुद्धका अभियोग प्रमाणित भएमा नक्कली कागजात बनाएको अभियोगमा १५ बर्ष र संघीय अधिकारीसँग झूठो बोलेको अभियोगमा ५ बर्ष गरी २० बर्षसम्म जेल सजाय हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com