फाइजरभन्दा मोडेर्ना केही राम्रो भएको हार्वर्ड शोध, अध्ययनमा अरु के के देखियो ?
प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार
हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको मोडेर्ना र फाइजर भ्याक्सिनको प्रभावकारिताबारेको तुलनात्मक अध्ययनमा फाइजरको तुलनामा मोडेर्ना भ्याक्सिन केही राम्रो भएको पाइएको छ । यो शोध अध्ययन हार्वर्ड टीएच चान स्कुल अफ पब्लिक हेल्थ, हार्वर्ड मेडिकल स्कुल, द ब्रिघम एण्ड वुमन हस्पिटल र भेट्रान एड्मिनिस्ट्रेशनले संयुक्त रुपमा गरेका हुन् ।
शोधकर्ताहरुले मोडेर्ना र फाइजरका भ्याक्सिन कोरोनाको लक्षणसहितको संक्रमण रोक्न उच्च रुपमा प्रभावकारी रहेको र यी भ्याक्सिनहरुमा थोरैमात्र अन्तर रहेकोमा जोड दिएका छन् । शोध अध्ययनमा भ्याक्सिन ४ लाख ४० हजार अमेरिकी भेट्रानको तथ्यांक प्रयोग गरिएको थियो । जसमा आधाजति फाइजर भ्याक्सिन लगाएका र आधा मोडेर्ना भ्याक्सिन लगाएकाहरु थिए । उनीहरुले यसैबर्षको जनवरी ४ देखि मे २१ सम्म भ्याक्सिन लगाएका थिए ।

शोध अध्ययनमा तथ्यांक लिइएका सबै भेट्रानहरु १८ बर्षभन्दा माथिका रहेका थिए भने कोही पनि भ्याक्सिन लगाउनुभन्दा अगाडि संक्रमित थिएनन् । शोधकर्ताहरुले पहिलो डोज फाइजर भ्याक्सिन लगाएकाहरु २४ साताको फ्लोअप अवधिमा कोभिडको संक्रमणबाट बिरामी हुने सम्भावना मोडेर्नाको तुलनामा २७ प्रतिशत बढी रहेको र अल्फा भेरियन्टको प्रभाव बढ्दा उक्त अवधिमा अस्पताल भर्ना हुनेदर मोडेर्नाको तुलनामा ७० प्रतिशत बढी रहेको बताएका छन् ।
फाइजर भ्याक्सिन लगाएका हरेक एकहजारमा झण्डै ६ जना कोरोनाबाट संक्रमित भएका थिए भने मोडेर्ना भ्याक्सिन लगाएका हरेक एकहजारमा झण्डै ५ जना कोरोनाबाट संक्रमित भएका थिए । जब डेल्टा भेरियन्टको प्रभाव बढेको थियो, तब फाइजरको भ्याक्सिन लगाएका अतिरिक्त ६ दशमलव ५४ जना कोरोनाबाट संक्रमित भएका थिए । के कारणले यो फरक देखिएको भन्नेबारे शोधकर्ताहरु यकिन छैनन् ।
फाइजर र मोडेर्ना भ्याक्सिनले शरीरमा प्रतिरोध क्षमता बनाउन प्रोटिनको कसरी बनाउने भन्ने सिकाउने ल्याबमा निर्मित एमआरएनए प्रयोग गरेका छन् । मोडेर्ना भ्याक्सिनमा फाइजरको तुलनामा केही बढी एमआरएनए सामाग्रीको प्रयोग गरिएको सीडीसीले जनाएको छ ।






