पाकिस्तानमा श्रीलंकाली मजदुरको कुटीकुटी हत्या : प्रधानमन्त्री भन्छन् ‘अत्यन्तै लाजमर्दो’
प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार
पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट सहरमा एक श्रीलंकाली नागरिकलाई ईश्वरनिन्दाको आरोपमा हत्या गरिएपछि विश्वका साथै पाकिस्तानमा पनि यसको निन्दा भइरहेको छ । एकातिर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसलाई पाकिस्तानका लागि ‘अत्यन्तै लाजमर्दो दिन’ भनेका छन् भने अर्कोतर्फ यो देशका जनता ‘हामी के बनेका छौं’ भनिरहेका छन् ।
शुक्रबार सियालकोटको कारखानामा काम गर्ने श्रीलंकाली नागरिक प्रियंथा कुमारालाई ईश ईन्दाको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको थियो र त्यसपछि उनको शव जलाएको थियो। पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले इमरान खानको ट्विटलाई रिट्वीट गर्दै यो निकै दुखद दिन भएको बताएका छन् ।
पाकिस्तानकी चर्चित अभिनेत्री माहिरा खानले ट्वीटरमा इमरान खानलाई ट्यागगर्दै लेखेकी छन्–‘यो लज्जास्पद घटना हो, म यसबाट निकै दुःखी छु। इमरान खान हामी जवाफका लागि तपाईंलाई हेरिरहेका छौं। न्यायका लागि तपाईंलाई हेरिरहेका छौं ताकि समाजबाट यस्ता घटनाको अन्त्य होस्।’
पाकिस्तानको उलेमा काउन्सिलले पनि घटनाको आलोचना गरेको छ। काउन्सिलका अध्यक्ष ताहिर महमूदले यस घटनालाई हिंस्रक आक्रमण मानेको बताएका छन्।
सामाजिक सञ्जालमा यससँग सम्बन्धित भिडियो तथा तस्विरहरु चल्न थालेपछि राजनीतिज्ञ, कूटनीतिज्ञ, समाजसेवी र आम जनताले पनि यो घटनाप्रति आक्रोश र दुःख व्यक्त गर्दै मुलुकमा बढ्दै गएको कट्टरपन्थीप्रति ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले इमरान खानको ट्विटलाई रिट्वीट गर्दै यो निकै दुखद दिन भएको बताएका छन् ।






