उत्कृष्ट गन्तब्यमा सीएनएनले सूचीकृत गरेपछि धनकुटाको ‘नाम्जे गाउँ’पर्यटकले भरिभराउ


प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार

नाम्जे / विश्वका १२ उत्कृष्ट गन्तब्य सूचीमा अमेरिकाको समाचार संस्था सीएनएनले सूचीकृत गरेपछि धनकुटाको ‘नाम्जे गाउँ’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । साँघुरीगढी गाउँपालिकाको वडा नं ६ नाम्जे गाउँमा बसोबास गर्दै आएका मगर समुदायको २२ घरमा पर्यटकका लागि घरबास (होमस्टे ) सञ्चालन गरिएको छ ।

कोरोना कहरबाट लामो अवधिसम्म घरभित्रै बस्नुपर्दा दिक्क भएका हजारौं पर्यटक नाम्जेका घरबासमा ओइरिन थालेका छन् । यसलाई धान्न स्थानीय घरबास सञ्चालकहरुलाई हम्मे हम्मे परेको छ । धरानबाट २० किलोमिटर र भेडेटारबाट चार किमी नजिक रहेको ‘नाम्जे गाउँ’ पुग्न मोटर र पैदलमार्गको सहज र सुविधाजनक पहुँच छ । घरबास, मगर संस्कृति र मनमोहक प्राकृतिक वातावरणका लागि प्रसिद्ध ‘नाम्जे गाउँ’ वरपर नेपालकै सुप्रसिद्ध अरु पर्यटकीय गन्तब्य भएको हुँदा यो स्थान पर्यटकको रोजाइ बन्ने गरेको हो ।

महामारीमा सुनसान बनेको ‘नाम्जे गाउँ’ अहिले आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुन थालेको नाम्जे सामुदायिक होमस्टे समितिका अध्यक्ष अनिल रानाले जानकारीदिनुभयोे । यहाँ हरेक रात १५० पर्यटकलाई आवासको व्यवस्था छ । सयौंको सङ्ख्यामा आउने पर्यटक बस्ने ठाउँ नपुगेर होटलतिर जान बाध्य छन् ।

गाउँका २२ घरबास हरेक दिन पाहुनाले भरिने गरेको र नअट्ने भएपछि थुप्रै पर्यटकलाई होटलतिर पठाउनु परेको उहाँको भनाइ छ । “हामी होमस्टेमै बस्छौं भनेर धेरै पाहुना आउनुहुन्छ, सीमित कोठाहरु भएकाले यहाँ नअटाउनेहरुलाई होटलतिर पठाउने गरेका छौं,” अग्रिम बुकिङ गरेर पाहुनाहरु गाडी लिएरै आउने गरेको जनाउँदै उहाँले भन्नुभयो–“अगाडि नै बुकिङ नगरी आउनुहुने पाहुनालाई राख्न हामीसँग ठाउँ नै हुँदैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महामारीले विश्वभरि पर्यटन व्यवसाय धराशायी बनिरहेको बेला ‘नाम्जे गाउँ’मा पर्यटकको ओइरोले नेपाली पर्यटन सजिलै व्यँुतिन सक्दोरहेछ भनेर उदाहरण प्रस्तुत गरेको नेपाल पत्रकार महासंघ प्रदेश नं। १ क उपाध्यक्ष हिमा चेम्जोङ बताउनुहुन्छ ।उहाँले सीएनएन जस्तो प्रसिद्ध सञ्चार संस्थाले विश्व गन्तब्य सूचीमा राखेको ‘नाम्जे गाउँ’का बासिन्दाको जीवनस्तर घरबास पर्यटनले नै उकासिएको बताउनुभयो । धरान, भेडेटार जस्ता पर्यटकीय सहर नजिकै भएको हुँदा नाम्जे क्षेत्रमा पर्यटकको घुइँचो बढेको उहाँको भनाइ छ ।

साँघुरीगढी गाउँपालिकाभित्र नाम्जे घरबासका लागि प्रसिद्ध भए जस्तै वरपर रहेको भेडेटारको चाल्र्स भ्यूटावर, नमस्ते झरना, राजारानी ताल, विश्रान्ति मन्दिर, साँघुरी गढी, ध्वँजे डाँडा, आत्मा सम्झिने स्थान, नयाँ पाथिभरा मन्दिर, ओख्रे भ्यूटावर र डाँडाबजारको बरको रुख पर्यटकका लागि उत्तिकै आकर्षण बन्ने गरेको साँघुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ जानकारीदिनुभयो । “साँघुरीगढीको एकीकृत पर्यटकीय विकासका लागि हामी योजनाबद्ध रुपमा काम गरिरहेका छौं,” उहाँले भन्नुभयो“यात्री बढाउने होइन, पर्यटक बढाउने र उनीहरुको बसाई लम्ब्याउनेतर्फ हाम्रा गतिविधि केन्द्रीत छन् । स्थानीय सरकारले यसलाई प्राथमिकतामा राखेको छ ।”

पर्यटकलाई रमणीय स्थानका विषयमा जानकारी दिन सूचना केन्द्र स्थापना गर्ने, पार्किङ स्थल निर्माण गर्ने, स्थानीय कृषि उत्पादनलाई बढाउने, पर्यटक सत्कारका लागि स्थानीयबासीलाई प्रशिक्षण दिने, जनजाति पार्क बनाउने, मगर संस्कृतिलाई संरक्षण गर्न सहयोग पुर्याउने लगायतका थुप्रै योजना पालिकासँग रहेको प्रकाशकीय श्रेष्ठले जानकारी दिनुभयो ।

‘नाम्जे गाउँ’मा बसोबास गर्नेहरु ९५ प्रतिशत मगर समुदायका छन् । उनीहरुको हुर्रा नाच पर्यटकका लागि विशेष आकर्षण हुने गरेको छ । यहाँको तोङ्बा, स्थानीय जातको कुखुरा र बारीमा फल्ने अग्र्यानिक सागसब्जी पर्यटकको रोजाई हुने गरेको छ । यहाँका हरेक घरमा पर्यटक स्तरको घरबासको व्यवस्था गरिएको छ । घरबास शुल्क र यहाँको खानपान धेरै सस्तो छ ।

२०३८ सालमा बेलायतका युवराज चाल्र्सले नेपाल भ्रमण गर्दा साँघुरीगढीको भेडेटारमा प्याराफिट निर्माण गरेर हिमाली दृश्यावलोकन गर्नुभएको थियो । थुम्कीमा बनेको त्यही प्याराफिटबाट प्रेरित भएर यहाँ भ्यूटावर निर्माण गरियो । जहाँबाट सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, कोशी व्यारेज, विराटनगर, धरान र इटहरीको दृश्यावलोकन गर्न सकिन्छ । शैलुङ डाँडा भनेर चिनिएको यस स्थानलाई पछि ‘चाल्र्स भ्यूटावर’ नामाकरण गरिएको हो ।

सिङ्सवा खोलाको शीरबाट ५० मिटर खस्ने छाङो यहाँको नमस्ते झरनाको रुपमा प्रसिद्ध छ । कोशी राजमार्ग नजिक भएको हुँदा यात्रुहरु समेत गाडी रोकेर झरना हेर्न र नुहाउन जाने गर्छन् । भेडेटारबाट पैदल पाँच घण्टामा पुगिने राजारानी ताल समुन्द्र सतहबाट १५०० मिटरको उचाइमा रहेको रमणीय क्षेत्र हो । लिम्बु भाषामा ‘मानावरक’ र ‘पावावरक’ भनिने यो तालमा नौकाविहार र फिसिङको सुविधा समेत छ । बाह्रै महिना चिसो मौसम भए तापनि हिउँदमा यहाँ आकाश उघ्रिएर पारिलो घाम लाग्ने गर्दछ । घुम्न, बस्न र सेमिनार गर्नका लागि यहाँ घरबास बाहेक सुविधा सम्पन्न होटलहरु बढिरहेका छन् । ‘नाम्जे गाउँ’को घरबासमा प्रति व्यक्ति रु। दुई सयमा बस्ने व्यवस्था गरिएको छ ।

सुर्खेतबाट सपरिवार घुम्न आउनु भएकी लक्ष्मी जोशीले दुई रात ‘नाम्जे गाउँ’मा बिताउने सोच राखेको बताउनुभयो । पहिलो रात घरबासमा बस्दा यहाँको आतिथ्य साह्रै राम्रो लागेको बताउँदै उहाँले राजारानी ताल र विश्रान्ति मन्दिर घुमेर अरु एक रात नाम्जेको घरबासमै बस्ने छोराछोरीहरुले इच्छा गरेको सुनाउनुभयो । “नानीबाबुहरु होस्टलमा बसेर पढ्दै आएका थिए, बन्दाबन्दीपछि दिनभरि अनलाइनमा पढ्थे,” नाम्जे गाउँको हरियाली वातावरण, ग्रामीण जनजीवन र घुम्नलायक ठाउँका कारण बसाइ आनन्ददायक भएको जनाउँदै उहाँले भन्नुभयो–“यहाँ नानीबाबुहरु साह्रै रमाए । सस्तो, सुन्दर र आकर्षक यस्तो पर्यटकीय स्थल नेपालमा अरुतिर पाइँदैन ।”

पर्यटकको घुइँचो बढ्दै गएपछि यहाँ होटल व्यवसाय पनि बढेको छ । स्थानीयको घरबासमा पार्किङ सुविधा नभएपछि पाहुनाहरु होटलमा प्रति रात रु ४०० तिरेर आफ्ना गाडी पार्किङ गराउन बाध्य छन् । घरबासकै कारण प्रसिद्ध ‘नाम्जे गाउँ’मा होटलको वृद्धि भएपछि पर्यटक तानातान बढ्न सक्ने स्थानीयवासीको चिन्ता छ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com