अपराधको पराकाष्ट : विषालु कोब्रालाई टोकाएर श्रीमतीको हत्या
प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार

अघिल्लो हप्ता भारतको केरलका एक व्यक्तिलाई आफ्नी श्रीमतीलाई कोब्राले टोकाएर मारेका कारण दोहोरो आजीवन कारावासको सजाय तोकिएको छ । यस्तो सजाय भारतमा निकै दुर्लभ मानिन्छ । बीबीसी हिन्दीका संवाददाताले यो निकै भयानक हत्याकाण्डको यसरी प्रस्तुत गरेका छन् ।
अघिल्लो वर्ष अप्रिलमा २८ वर्षीया सुरज कुमारले संसारको सबैभन्दा विषालु सर्पमध्ये एक, स्पेक्टेकल्ड कोब्रालाई ७ हजार भारुमा खरिद गरेका थिए ।
भारतमा सर्पको व्यापार अवैध हो, त्यसैले सुरजले दक्षिणी राज्य केरलका सर्प व्यापारी सुरेश कुमारसँग गोप्य रुपमा उक्त सर्प किने । सुरजले एउटा प्लास्टिकको भाँडोमा हावा प्रवाहका लागि एउटा प्वाल पारे, कोब्रालाई भित्र राखे र घर लिएर गए ।
१३ दिनपछि उनले उक्त भाँडोलाई एउटा ब्यागमा राखे र लगभग ४४ किलोमिटर टाढा आफ्नो ससुराली पुगे । त्यहाँ उनकी श्रीमती उत्तरलाई पहिला नै सर्पले टोकेको थियो र उनी निको हुने क्रममा थिइन् ।
सुरज र उत्तराको भेट दुई वर्षअघि एउटा मेट्रोमोनियल ब्रोकरमार्फत् भएको थियो । सुरजका पिता एक अटो रिक्सा चालक थिए र आमा एक गृहिणी ।
उत्तरा, सुरजभन्दा तीन वर्ष कान्छी थिइन् र उनी लर्निङ डिसएबिलिटीद्वारा ग्रसित थिइन् जसमा मानिसलाई नयाँ कुरा सिक्न समस्या हुन्छ । उनी निकै सम्पन्न परिवारकी थिइन् । पिता एक रबर व्यापारी र आमा विद्यालयकी अवकाशप्राप्त प्रधानाध्यापक हुन् ।
यी दुईले विवाह गर्दा सुरजले उत्तराका आमा–बुवासँग ७६८ ग्राम सुन, एउटा सुजुकी सेडान र ४ लाख नगद दाइजो लिएका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुरजलाई उत्तराका आमा–बुवाले उनकी छोरीको हेरविचारका लागि ८ हजार भारु प्रति महिना दिने गरिन्थ्यो ।
उत्तरालाई सर्पले पहिलो पटक टोक्दा उनी ५२ दिनसम्म अस्पताल बसिन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी माइती नै फर्किन् ।उनलाई विषालु सर्प रसल वाइपरले टोकेको थियो । यसका कारण उनको खुट्टामा तीनवटा शल्यक्रिया गर्नुपरेको थियो ।
अनुसन्धानकर्ताका अनुसार जब उत्तराको स्वास्थ्यमा सुधार आइरहेको थियो तब ६ मेको राती सुरजले उनलाई एक गिलास फलफूलको जुस दिए जसमा उनले बेहोस हुने औषधी मिसाएका थिए । औषधीले असर गरेपछि उनी बेहोस भएपछि सुरजले कोब्रा भएको भाँडो निकाले र पाँच फिट लामो सर्पलाई सुतिरहेकी श्रीमतीमाथि खसालिदिए ।
तर सर्पले उनीमाथि हमला गरेन, उल्टै भाग्यो । सुरजले भागिरहेको सर्पलाई पुनः उठाए र उत्तरामाथि फ्याँकिदिए । तर सर्प पुनः चिप्लियो ।
सुरजले तेस्रो पटक कोसिस गरे । यतिबेला उनले कोब्राको गर्धन समातेर उत्तराको बायाँ हाततर्फ लिएर गए । रिसाएको कोब्राले उत्तरालाई टोक्यो । त्यसपछि उनले सर्पलाई एउटा दराजमा बन्द गरिदिए । सर्प रातभरी दराजभित्रै थुनियो ।
अनुसन्धानकर्ताका अनुसार सुरजले सन् २०१९ मा नै आफ्नो छोरा ध्रुवको जन्मलगत्तै श्रीमतीको हत्या गर्नका लागि षड्यन्त्र रचिरहेका थिए । उनको इन्टरनेट हिस्ट्रीमा उनले विषालु सर्पबारे सर्च गरेको र युट्युबमा सर्पका भिडियो हेरेको पत्ता लाग्यो । यीमध्ये एउटा भिडियोमा रसेल वाइपर असाध्यै खतरनाक सर्प भएको बताइएको थियो ।
सुरजले कथित रुपमा आफ्ना साथीहरुलाई ‘उनकी श्रीमतीले सपनामा एउटा नागिनको श्राप पाएको र यसमा उनको मृत्यु सर्पले टोकेपछि नै हुने बताइएको’ भन्ने गर्दथे ।अनुसन्धानकर्ताका अनुसार वास्तवमा सुरज आफ्नी श्रीमतीको हत्या गरेर, उनको पैसा चोरेर अन्य महिलासँग विवाह गर्न चाहन्थे । अनुसन्धानका प्रमुख प्रहरी अधिकारी अपुकुट्टन अशोकले भने, ‘सुरजले यसको सावधानीपूर्वक योजना बनाए र तेस्रो प्रयासमा सफल रहे ।