बेलायतमा एकै दिन ४९ हजार बढी सङ्क्रमित


प्रकाशित मिति : कार्तिक ३, २०७८ बुधबार

बेलायतमा पछिल्लो २४ घण्टामा ४९ हजार १३९ जना कोरोना सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दैनिक सङ्क्रमित सङ्ख्या एक लाखसम्म पुग्ने स्वास्थ्य मन्त्री साजिद जाविदले बुधबार साँझको कोरोना अपडेट प्रेस ब्रिफिङमा बताए ।

विगत आठ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ । गत जनवरीमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलिरहँदा दैनिक सङ्क्रमित सङ्ख्या ५० हजार भन्दा माथि रहेको थियो ।

सङ्क्रमित सङ्ख्याको सबैभन्दा उच्चतम बिन्दु ८ जनवरीमा ६८ हजार ५३ पुगेको थियो । बेलायतमा हालसम्म सङ्क्रमित हुनेको कुल सङ्ख्या ८५ लाख ८९ हजार ७३७ पुगेको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै बेलायतमा कोरोनाका सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ३९ हजार नाघेको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकै दिन एक हजार ८२० जनाको मृत्यु भएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com