पूर्ण डोज भ्याक्सिन लगाएका अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाबाट निधन


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणको जटिलताबाट निधन भएको छ । उनका परिवारका तर्फबाट जारी वक्तव्यमा पावेलको निधन भएको जानकारी दिइएको हो ।

पावेलले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका थिए भने उनको वाल्टर रिड नेशनल मेडिकल सेन्टरमा उपचार गरिएको थियो । परिवारका तर्फबाट वाल्टर रिड नेशनल मेडिकल सेन्टरका कर्मचारीहरुलाई धन्यवाद दिइएको छ ।

सन् १९९१ मा कोलिन पावेल

पावेल सन् २००१ देखि सन् २००५ सम्म राष्ट्रपति जर्ज डब्ल्यु बुसको पहिलो कार्यकालमा विदेशमन्त्री भएका थिए । पावेल अमेरिकाका ६५ औं विदेशमन्त्री थिए ।

कोलिन पावेल अमेरिकाका पहिलो अश्वेत विदेशमन्त्री थिए । उनले सन् २००२ मा विदेशमन्त्रीका रुपमा नेपालको भ्रमण समेत गरेका थिए । उनी नेपालको भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले नेपालको भ्रमण गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

उनी सन् १९८९ मा संयुक्त चिफ अफ स्टाफका १२ औं अध्यक्ष समेत भएका थिए ।

सन् १९८७ देखि सन् १९८९ सम्म पावेल अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए भने त्योभन्दा अगाडि सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । सन् १९३७ मा न्युयोर्क सिटीमा जन्मिएका उनको ८४ बर्षको उमेरमा निधन भएको हो ।

सन् २०१२ मा कोलिन पावेल

रिपब्लिकन प्रशासन अन्तगत महत्वपूर्ण भूमिकाहरुमा रहेर काम गरेका पावेलले गत जनवरीमा क्यापिटल हिलमा भएको दंगापछि आफूलाई रिपब्लिकन नमान्ने घोषणा गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com