अमेरिकाको वालग्रिन्समा फ्लु शटको साटो झुक्किएर ४ र ५ बर्षकालागि कोरोनाबिरुद्धको भ्याक्सिन


प्रकाशित मिति : आश्विन २८, २०७८ बिहीबार

अमेरिकाको इन्डियाना राज्यको इभान्सभिलमा रहेको वालग्रिन्स स्टोरमा फ्लु शटको साटो झुक्किएर बच्चाहरुलाई समेत कोरोनाबिरुद्धको भ्याक्सिन लगाइएको छ । उनीहरुले अहिले प्रतिकूल लक्षणहरुको सामना गरिरहेको जनाइएको छ ।

जोशुआ र एलेक्जेण्ड्रा प्राइस फ्लु शट लगाउनका लागि आफ्ना ४ र ५ बर्षका बच्चाहरुसहित फार्मेसी गएका थिए । बार्षिक फ्लुशटका लागि गएका उनीहरुलाई भ्याक्सिन लगाएर फर्केको ९० मिनेटपछि वालग्रिन्सबाट फोन गरेर गल्तीले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइएको जानकारी दिएका थिए । पूरै परिवारलाई गलत भ्याक्सिन दिइएको थियो ।

जोशुआ र एलेक्जेण्ड्रा प्राइसले गत अप्रिलमा नै नै पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका थिए । उनीहरु आफ्नोबारेमा भन्दा पनि ४ र ५ बर्षका बच्चाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन दिइएकोमा चिन्तित भएका छन् । ५ बर्षकी सोफिया र ४ बर्षका लुकास भ्याक्सिन लगाएर घर आउने बित्तिकै बिरामी भएका थिए ।

उनीहरुलाई झुक्किएर फाइजरको भ्याक्सिन दिइएको थियो । यो भ्याक्सिन अमेरिकामा १२ बर्षभन्दा माथिकाहरुलाई लगाउन अनुमति दिइएको छ । फाइजरले ५ बर्षदेखि ११ बर्षका बालबालिकालाई भ्याक्सिनको सानो डोजका लागि अनुमतिका लागि आवेदन दिइसकेको छ । बेलर कलेज अफ मेडिसिनमा नेशनल स्कुल अफ ट्रोपिकल मेडिसिनका डिन डाक्टर पिटर होटेजले बालबालिकाहरु ठीक हुने विश्वास व्यक्त गरेका छन् ।

बालबालिकाहरुका लागि कोरोनाबिरुद्धको भ्याक्सिन फाइजर क्लीनिकल परीक्षणका क्रममा जति दिइएको थियो, सोफिया र लुकासले प्राप्त गरेको डोज त्यो भन्दा तीन गुणा बढी रहेको थियो । यद्यपी यसले उनीहरुलाई कुनै नकारात्मक असर नगर्ने विश्वास गरिएको छ । जोशुआ र एलेक्जेण्ड्राले प्राप्त गरेको डोजले बुस्टर डोजका रुपमा काम गर्ने डाक्टर पिटर होटेजको भनाई छ ।

वालग्रिन्सले सुरुमा उनीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको कार्ड दिन अस्वीकार गरेको थियो । तर भोलिपल्ट सबैलाई भ्याक्सिन लगाएको कार्ड दिएको छ । भ्याक्सिन कसरी मिसियो भन्नेबारे वालग्रिन्सले केही बताएको छैन । बच्चाहरुको लक्षण खराब भएपछि चिकित्सककहाँ समेत लगिएको थियो । उनीहरुलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने र रिंगटा लाग्नेजस्ता साइडइफेक्ट देखिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com