लकडाउनका कारण उडान छुटाएपछि रिफण्ड दावी गर्नेलाई एयरलाइन्सको प्रतिबन्ध


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

कोरोना महामारी सम्बन्धित लकडाउनका कारण उडान छुटाएपछि रिफण्ड दावी गर्ने यात्रुहरुलाई युरोपको एयरलाइन्स रायन एयरले अर्कोपटक आफ्नो विमान चढ्न प्रतिबन्ध लगाएको छ । उडान छुटाएका कारण क्रेडिट कार्ड कम्पनीसमक्ष सम्पर्क गरेर ग्राहकहरुले रिफण्ड लिन थालेपछि रायन एयरले त्यसरी रिफण्ड लिने ग्राहकलाई आफूहरुका उडानमा प्रतिबन्ध लगाउन थालेको हो ।

यो कदमबाट नन रिफण्डेवल टिकट किनेका तर सरकारी प्रतिबन्धहरु र लकडाउनका कारण निर्धारित तालिकामा नै चलेका उडानमार्फत समेत यात्रा गर्न नसकेका वा नचाहेका यात्रुहरु प्रभावित भएका छन् । झण्डै एक हजार यात्रुहरुमाथि यस्तो प्रतिबन्ध लगाइएको रायन एयरले वक्तब्यमार्फत जनाएको छ । ती यात्रुहरुले मनोमानी तरिकाले यात्रा गर्न नचाहेको र गैरकानूनी रुपमा क्रेडिट कार्ड कम्पनीबाट रकम रिफण्ड गराएको एयरलाइन्सको आरोप छ ।

त्यसरी रिफण्ड लिएकाहरुले उक्त रकम एयरलाइन्सलाई फिर्ता नगरेसम्म वा पूरानो टिकटको रकम नतिरेसम्म नयाँ उडानमा रोक लगाइने भएको छ । एयरलाइन्सबाट सिधै रिफण्ड लिएकाहरु भने यो नियमबाट प्रभावित नहुने एयरलाइन्सले जनाएको छ । उडानमा अवरोध वा कुनै समस्याका कारण एयरलाइन्सलाई नै अनुरोध गरेर रिफण्ड लिएकाहरु भने निर्वाध यात्रा गर्न पाउनेछन् ।

ग्राहकले क्रेडिट कार्ड कम्पनी वा आफ्नौ बैंक समक्ष अनुरोध गरेको खण्डमा र उक्त रकम नाजायज रहेको बैंकले निष्कर्ष निकालेको खण्डमा चार्जब्याकका रुपमा रकम बैंक खातामा फिर्ता हुने प्रावधान रहेको छ । क्रेडिट कार्ड कम्पनीहरुले विवादमा आएका यस्ता रकम एयरलाइन्सलाई नतिरेर ग्राहकलाई फिर्ता गर्न थालेपछि रायन एयरले यो कदम चालेको हो । महामारीको लकडाउनको बेलामा रायन एयर र ब्रिटिस एयरवेजले यात्रा गर्न नसकेका यात्रुको रकम रिफण्ड गर्न अस्वीकार गरेको थियो । तर नयाँ टिकटका लागि क्रेडिट दिने गरेको थियो ।

पहिले रिफण्ड गरेको रकम फिर्ता नगरेसम्म यात्रुहरुलाई विमान चढ्नमा प्रतिबन्ध लगाएको रायन एयरले त्यस्तो प्रतिबन्धपछि भने पछिल्लो टिकटको रकम रिफण्ड गर्ने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com