२ बर्षपछि यसरी निकालियो कोलोराडोको जंगलमा हरिणको टाउकोमा फसेको टायर


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

कोलोराडोको जंगलमा हरिणको टाउकोमा फसेको टायर झण्डै २ बर्षपछि निकाल्नमा सफलता मिलेको छ । कोलोराडो पार्क एण्ड वाइल्डलाइफका अधिकारीहरुले हरिणको टाउकोमा फसेको टायर निकालेर हरिणलाई जंगलमा नै छाडिदिएका छन् ।

हरिणको टाउकोमा दुईबर्षदेखि मालाजस्तोगरी टायर झुण्डिएपनि निकाल्न सकिएको थिएन । अधिकारीहरुले कैयन प्रयासपछि टायर निकाल्न सकेका हुन् । अधिकारीहरुले सन् २०१९ मा डेनभरदेखि ३० माइल पश्चिममा रहेको माउन्ट इभान्समा रकी माउन्टेन जंगली भेंडाहरु गणना गर्ने क्रममा पहिलोपटक हरिणको टाउकोमा फसेको टायर देखेका थिए । त्यसपछि पटकपटक टायर निकाल्न खोजिएको थियो ।

उक्त हरिण त्यसपछि पटकपटक पार्क र जेफर्सन काउन्टीमा हिडेको देखिएको थियो । बन्यजन्तु अधिकारीहरुले टायरका कारण हरिणको खाने पिउने क्षमतामा असर परे नपरेको अवलोकन गरेका थिए । खाने पिउने क्षमतामा कुनै असर नपरेपनि रुखका हाँगाहरुमा हरिण फस्ने खतरा भने रहेको थियो ।

४ बर्ष उमेरको उक्त हरिणको तौल झण्डै ६ सय पाउण्ड रहेको थियो । अधिकारीहरुले उक्त हरिणलाई बेहोस बनाएर टायर निकालेका थिए । टाउकोबाट टायर निकाल्नका लागि हरिणको सिंगका केही भाग काट्नु परेको थियो । टायरको मालामा रहेको स्टील काट्न सम्भव नभएकाले सिंगको केही भाग काट्नु परेको अधिकारीहरुको भनाई छ ।

टायरमा झण्डै १० पाउण्ड माटो र घुस्यान भरिएको थियो । त्यस्तै सिंगको केहीभागसमेत काटिएकाले अब उक्त हरिणको भार झण्डै ३५ पाउण्ड कम भएको छ । टायरका कारण हरिणको घाँटीमा खासै चोट थिएन । केही रौं खुइलिएका थिए भने सिक्का आकारको साना घाउ रहेको थियो ।

एकसाताको अवधिमा अधिकारीहले हरिणलाई शान्त बनाउन चौथो प्रयास गरेका थिए । शान्त बनाउनका लागि प्रयोग गरिने उपकरणहरु छोटो दुरीका रहेका थिए । ती उपकरणबाट हरिणलाई शान्त बनाएर टायर झिकेको केही मिनेटपछि नै हरिण आफ्नै खुट्टाले जंगलतिर लागेको थियो । हरिणको टाउकोमा कसरी टायर फसेको हो भन्नेबारे केही खुलेको छैन । हरिण सानो भएको बेला टाउकोमा टायर फसेको हुनसक्ने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com