फ्लोरिडामा भेटियो २० लाख डलर मूल्यको गाँजा: अधिकांश राज्यमा बैधानिक, संघीय स्तरमा अवैधानिक


प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार

फ्लोरिडाको ब्रेभार्ड काउन्टीको प्रहरीले २० लाख डलर मूल्यको गाँजा फेला पारेपछि प्रहरीले गाँजा र सही मालिकको मिलन गराउन गाँजा मालिक खोजिरहेको भन्दै सामाजिक सञ्जालमा मजाकपूर्ण पोष्ट गरेको छ । यदि कसैले झण्डै ७७० पाउण्ड उच्च कोटीको गाँजा हराएको छ र आफ्नो सम्पत्ति फर्काउन चाहन्छ भने प्रहरीको नार्कोटिक्स विभागमा सम्पर्क गर्न प्रहरीले सुझाव दिएको छ ।

प्रहरीले भनेको छ -‘हामी तपाईको हराएको सम्पत्ति र तपाईको मिलन गराउन पाएमा एकदमै खुशी हुने थियौं ।’

उक्त गाँजा फ्लोरिडाको पूर्वीक्षेत्रमा रहेको भिएरामा एउटा सानो भण्डारणमा फेला परेको थियो । प्रहरीले सामाजिक सञ्जालमा गरेको पोष्टमा सही मालिकलाई अपराध अनुसन्धान सेवाको भवनमा जान प्रेरित गरेको छ । तर प्रहरीले भनेको छ -‘यदि सही मालिक फेला परेमा गाँजा फिर्ता गर्न तथा गाँजा र गाँजा मालिकलाई कसैले चोर्ननसक्ने सुरक्षित स्थानमा राख्ने सुनिश्चित गर्नेछौं ।’

फ्लोरिडामा मनोरञ्जनका लागि गाँजाको प्रयोग अवैधानिक रहेको छ भने मेडिकल प्रयोगका लागिमात्र स्वीकृति प्रदान गरिएको छ ।

२० ग्रामसम्म गाँजा बोकेको पाइएमा दुष्कर्मका रुपमामात्र मानिन्छ भने १ बर्षसम्म जेल सजाय, एकहजार डलरसम्म जरिवाना र चालक अनुमतिपत्र खारेज गर्ने कानून फ्लोरिडामा रहेको छ । तर मेडिकल प्रयोगका लागि भने सन् २०१६ मा गाँजालाई बैध बनाइएको थियो । २० ग्रामभन्दा बढी गाँजा बोकेको पाइएमा भने त्यसलाई अपराध मानिन्छ । ५ बर्षसम्म जेलसजाय र ५ हजार डलरसम्म जरिवानाको व्यवस्था रहेको छ ।

अमेरिकाका कैयन राज्यमा गाँजालाई बैधानिकता दिइएको छ तर त्यसका निश्चित कानूनी मापदण्डहरुको पालना गर्नुपर्छ । लाइसेन्सविना गाँजाको कारोबार गैरकानूनी हो । झण्डै ६ महिना अगाडि न्युयोर्क राज्य संसदका दुबै सदनबाट मनोरञ्जनका लागि गाँजालाई बैधता दिने बिल भारीमतले पारित भएको थियो । गाँजालाई बैधता दिइएपनि कानूनी किनबेच भने सुरु हुन एकदेखि २ बर्षसम्म लाग्ने जनाइएको छ ।

बिल अनुशार २१ बर्षका माथिका व्यक्तिलाई न्युयोर्कमा मनोरञ्जनका लागि ३ आउन्स सम्म गाँजा किन्न र बोकेर हिड्नमा छुट दिइएको छ । तर गाँजाको किनबेच भने लाइसेन्सप्राप्त वितरकबाट गर्नुपर्छ ।

मनोरञ्जनका लागि गाँजा सेवन गर्नेहरुले घरमा ६ वटा बोटसम्म गाँजा रोप्न पाउनेछन् । एउटा परिवारले १२ वटा बोटसम्म गाँजा रोप्न पाउनेछ । वासिंटन डिसीमा पनि मनोरञ्जनका लागि गाँजा बैध छ ।

संघीय स्तरमा गाँजा अवैधानिक

अमेरिकामा कैयन राज्यमा गाँजालाई बैधानिक बनाइएपनि अमेरिकाको संघीय स्तरमा भने गाँजालाई अवैधानिक मानिन्छ । अमेरिकी संसदले गाँजालाई अपराधको श्रेणीबाट हटाउन प्रयासहरु भने गरिरहेको छ । यसबारे गतबर्ष हाउसबाट एउटा बिल समेत पारित भएको थियो ।

अमेरिकाका १८ वटा राज्यहरु र वासिंटन डिसीमा बयस्कहरुले मनोरञ्जनका लागि गाँजाको प्रयोग गर्न पाउने नियम रहेको छ । न्युु मेक्सिको, कनेक्टिकट र भर्जिनिया गाँजालाई बैधानिकता दिने पछिल्ला राज्यहरु हुन् ।

एउटा सर्वेक्षणमा ६३ प्रतिशत अमेरिकनहरु गाँजालाई संघीय स्तरमा समेत बैध बनाउने पक्षमा रहेका थिए । गतबर्ष संयुक्त राष्ट्रसंघमा पनि गाँजालाई अति खतरनाक लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान भएको थियो । यसअघि विश्व स्वास्थ संगठनले पनि गाँजालाई अति खराब लागुऔषधको सूचीबाट हटाउन राष्ट्रसंघ समक्ष सिफारिस गरेको थियो । गाँजाको अनुसन्धान र विश्वमा यसको औषधिय प्रयोगका लागि यस निर्णयको प्रभाव ठूलो रहने अपेक्षा गरिएको छ ।

नार्कोटिक ड्रग्सका लागि संयुंक्त राष्ट्रसंघको कमिसनमा रहेका ५३ सदस्य राष्ट्र मध्ये गाँजालाई खतरनाक ड्रग्सको सूचीबाट हटाएर पुनवर्गिकरण गर्नुपर्ने पक्षमा २७ सदस्य राष्ट्र र विपक्षमा २५ सदस्यले भोट हालेका थियो । यसअघि गाँजालाई १९६१ को भेलाले अति खतरनाक लागुऔषधको सूचीमा राखेको थियो । गाँजालाई हेरोइन, मेथाडोन, मोर्फाइन, अफिम र कोकिनजस्ता ड्रग्ससँग अति खराब लागुऔषधको सूचीमा सूचीकृत गरिएको थियो ।

अमेरिका र अधिकांश युरोपेली देशहरुले गाँजालाई यस सूचीबाट हटाउनुुपर्ने पक्षमा मत खसालेका थिए भने चीन, पाकिस्तान, रुसलगायत देशहरुले विपक्षमा मत खसालेका थिए ।

 

गाँजा सेवन गर्नेलाई अमेरिकी नागरिकतामा रोक

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसको नीति अनुशार गाँजा सेवन लगायत यससँग सम्बन्धित गतिविधि गर्ने व्यक्तिलाई अमेरिकी नागरिकता लिनमा रोक्न सकिने प्रावधान छ । अमेरिकी नागरिकता लिनका लागि चाहिने असल नैतिक चरित्रबारे स्पष्ट पार्दै गाँजाको सेवनको राज्यको कानुनमा अपराधका रुपमा नलिइएपनि अमेरिकी नागरिकता लिनका लागिभने सशर्त बारको रुपमा रहने युएससीआईएसले स्पष्ट पारेको थियो ।

सन् १९९६ देखि वासिंटन डिसी लगायतका कैयन राज्यहरुले अमेरिकामा गाँजाको खेती, वितरण, सेवन र बोकेर हिड्ने मेडिकल वा गैर गैरमेडिकल कृयाकलापलाई अपराधका रुपमा नलिने गरी कानुनको निर्माण गरेका हुन् । तर अमेरिकाको संघीय कानुनले भने गाँजाको खेती, वितरण, सेवन र बोकेर हिड्ने कृयाकलापलाई गैरकानुनी ठहर गर्दै यस्तो गरेका कारण आप्रवासीले अपराध र अध्यागमन अवस्थाको सामना गर्नुपर्ने स्पष्ट पारेको छ ।

गाँजाबारेको गतिविधि राज्यको वा विदेशको कानुन अन्तरगत गैरकानुनी नठहरिएको अवस्थामा समेत त्यस्तो गतिविधि गरेको पाइएमा त्यस्ता आप्रवासीलाई असल नैतिक चरित्र नभएको ठहर गरेर अमेरिकी नागरिकता लिनमा रोक लगाउने युएसससीआईएसले जनाएको थियो । यद्यपी एकपटकमात्र ३० ग्राम वा त्यो भन्दा कम गाँजा सेवन, वितरण वा बोकेर हिडेको पाइएमा भने छुट दिन सकिने जनाइएको छ ।

गाँजा उद्योगमा काम गरेका कारण ग्रिनकार्डबाहकलाई नागरिकता प्रदान गर्नमा अस्वीकार गरिएको समाचार सार्वजनिक भए लगत्तै युएससीआईएसको नयाँ मेमो आएको थियो । युएससीआईएसले संघीय कानुन अनुशार काम गर्नुपर्ने भएकाले र संघीय कानुन अनुशार अमेरिकामा गाँजा अवैध भएकाले गाँजालाई असल नैतिक चरित्रको मापदण्डमा राखिएको युएससीआईएसका प्रवक्ताले जनाएका थिए ।

पीडा नियन्त्रणका लागि गाँजाको प्रयोग

अमेरिकी चिकित्सक पिटर ग्रिनस्पुनले हारभर्ड विश्वविद्यालयको प्रकाशनमा गाँजा सेवनका फाइदाबारे उल्लेख गरेका छन् ।

एकसयवटा सकृय तत्वहरु पाइने गाँजामा हुने टेट्राहाइड्रोकानाबाइनोलका कारण व्यक्ति गाँजा सेवनपछि लठ्ठ पर्ने हुन्छ । त्यही तत्वका कारण गाँजाको नशा चढ्ने भएपनि गाँजा सेवनका दर्जनौं फाइदाहरु छन् । तर दुब्र्यसनीका रुपमा नभई औषधीको रुपमा गाँजाको सेवन गर्न जान्नुपर्छ ।

अनिद्रा, चिन्ता, चण्चलता जस्ता समस्याबाट छुटाकारा पाउन गाँजाको सेवन निकै फलदायी मानिन्छ । छारेरोग जस्तो प्राणघातक रोगको उपचार समेत गाँजाबाट सम्भव छ । बाल्यकालदेखिको छारेरोगको गाँजाको सेवनले पूर्ण उपचार सम्भव नभएपनि निकै कमगर्न सम्भव हुने चिकित्सक पिटर ग्रिनस्पुनले जनाएका छन् ।

अमेरिकामा सबैभन्दा धेरै पीडा नियन्त्रणका लागि गाँजाको प्रयोग गरिन्छ । तर हड्डी नै तोडिएको वा अपरेशन पछिको पीडा भने गाँजाको सेवनबाट सम्भव छैन । तर क्रोनिक खालको पीडाहरुमा भने गाँजाको सेवनले राहत दिलाउँछ । एडभिल, अलिभ जस्ता औषधीको साटो गाँजाको सेवन गरेर विभिन्न प्रकारको दुखाई कमगर्न सकिन्छ । मृगौला वा अल्सरको समस्याका कारण पीडा कम गर्ने त्यस्ता औषधी प्रयोग गर्न नसक्नेहरुका लागि गाँजाको सेवन फलदायी मानिन्छ ।

नशाको कारण हुने दुखाई, मासंपेशीमा राहतका लागि गाँजाको सेवन चिकित्सकहरुले फलदायी मानेका छन् । त्यस्तै पार्किन्सन लगायतका रोगको प्रभाव कमगर्न पनि गाँजाको सेवन उपयुक्त मानिन्छ । फाइब्रोमायल्गिया, एंडोमेट्रियोसिस, इंटरस्टिशियल सिस्टिटिसका लागि पनि गाँजाको सेवन फलदायी मानिन्छ । खासगरी लामो समयदेखिको दुखाई छ भने गाँजाको सेवन उपयुक्त मानिन्छ ।

त्यस्तै तौलकम हुने समस्या समाधानका लागि र ग्लुकोमाको उपचारका लागि गाँजाको सेवन उपयुक्त मानिन्छ । एचआईभीका कारण दुखाईबाट ग्रसित हुनेहरुका लागि पनि गाँजाको प्रयोग उपयुक्त ठानिएको छ । तर अति सर्वत्र बर्जयते भनेजस्तो अति सेवन भने घातक हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com