क्यालिफोर्नियाका सरकारी विद्यालयले बाथरुममा सेनिटरी प्याड निशुल्क राख्नुपर्ने कानूनमा हस्ताक्षर


प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार

क्यालिफोर्नियाका सरकारी विद्यालयहरुले आगामी शैक्षिक शत्रदेखि छात्राहरुलाई निशुल्क सेनिटरी प्याड र रजस्वला सम्बन्धित ट्याम्पोन लगायतका सामाग्रीहरु उपलब्ध गराउनुपर्ने भएको छ । क्यालिफोर्नियामा पारित गरिएको पछिल्लो कानून अनुशार सरकारी विद्यालयहरुले सेनिटरी प्याड उपलब्ध गराउनुपर्ने भएको हो ।

६ कक्षादेखि १२ कक्षासम्म संचालित विद्यालयहरु, सामुदायिक कलेजहरु र २३ क्याम्पसहरु तथा झण्डै ५० हजार विद्यार्थीहरु रहेको क्यालिफोर्नियाको राज्य युनिभर्सिटी प्रणालीले बाथरुममा निशुल्क सेनिटरी प्याड लगायतका रजस्वला हुँदा आवश्यकपर्ने सामाग्रीहरु राख्नुपर्नेछ । सबैका लागि रजस्वला समानता नामको उक्त कानून राज्य सांसद क्रिस्टिना ग्रासियाले ल्याएकी थिइन् र राज्य संसदबाट पारित भएपछि गभर्नर गेभिन न्युसोमले हस्ताक्षर गरेका छन् ।

क्यालिफोर्नियाको यो कानून रजस्वला समानता सम्बन्धित पछिल्लो कदम हो । यो राज्यमा ल्याइएका प्रगतिशिल कानूनहरुले अन्य राज्यहरुले समेत अनुशरण गर्दै आएका छन् । यो बर्षदेखि क्यालिफोर्नियाले रजस्वला सम्बन्धित सामाग्रीहरुमा करछुटको व्यवस्था गरेको छ । यस्ता उत्पादनमा क्यालिफोर्नियाका बासिन्दाले विगतमा झण्डै २० मिलियन डलरभन्दा धेरै कर तिर्दै आएका थिए ।

गभर्नर गेभिन न्युसोम

बाथरुमहरुमा जसरी ट्वाइलेट पेपर र पेपर टावेलहरु उपलब्ध गराइएको हुन्छ, सोही तरिकाले नै सेनिटरी प्याड पनि उपलब्ध गराइने भएको छ । गतबर्ष स्कटल्याण्डले रजस्वला सम्बन्धित सामाग्रीहरु सामुदायिक केन्द्रहरु, फार्मेसी र युवाक्लबहरुमा देशव्यापी रुपमा निशुल्क उत्पादन गराउन थालेको थियो । यस्तो कदम चाल्ने स्कटल्याण्ड विश्वमै पहिलो देश हो । स्कटलल्याण्डले विद्यालय र युनिभर्सिटीहरुमा रजस्वलाका सामाग्रीहरु पहिलेदेखि नै निशुल्क राख्दै आएको थियो ।

त्यस्तै न्युजिल्याण्डका प्रधानमन्त्रीले यसैबर्ष देशभरका विद्यालयहरुमा रजस्वला सम्बन्धित सेनिटरी प्याड लगायतका सामाग्रीहरु निशुल्क वितरणका लागि कदम चालेकी थिइन् । सरकारले तीनबर्षका लागि रजस्वला सम्बन्धित सामाग्री निशुल्क वितरणका लागि १८ मिलियन डलर छुट्याएको छ ।

अमेरिकामा राज्यब्यापी रुपमा यस्तो नियम पहिलो भएतापनि स्थानीय सरकारहरुले भने यस्ता कदमहरु चाल्दै आएका छन् । न्युयोर्कको न्युयोर्क सिटी काउन्सिलले सन् २०१६ मा सिटीभित्रका सरकारी विद्यालयहरु, होमलेस सेन्टर र जेलहरुमा रजस्वला सम्बन्धित सामाग्रीहरु निशुल्क उपलब्ध गराउने मापदण्ड पारित गरेको थियो । सोहीबर्ष शिकागोले पनि रजस्वला सम्बन्धित सामाग्रीहरुमा ट्याक्स छुट दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com