अमेरिकाको मिनेसोटाको सेन्ट पाउलमा एकाविहानै १५ जनामाथि गोली प्रहार


प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार

अमेरिकाको मिनेसोटाको सेन्ट पाउल सिटीमा एउटा बारमा गोली चल्दा कम्तीमा १४ जना घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । मृतक २० बर्षको हाराहारीकी महिला रहेको प्रहरीले जनाएको छ ।

न्युयोर्क समय अनुशार आइतबार विहान सुरु भएको केहीबेरमा नै अर्थात् विहानै १ बजेर १५ मिनेटमा गोली चलेको खबरपछि प्रहरी घटनास्थलमा पुगेको थियो । गोलीकाण्डका दोषीलाई पत्ता नलगाएसम्म आफूहरु नरोकिने प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा लगिएको छ । सबैजना खतरामुक्त रहेको र बाँच्ने अपेक्षा गरिएको छ । घटनास्थलमा एकभन्दा बढी बन्दुकधारीहरु रहेको बताइएको छ । तर घटना के कारणले गराइएको हो भन्ने केही खुलेको छैन ।

अमेरिकामा पछिल्ला बर्षमा बन्दुक हिंशाका घटनामा उल्लेख्य बृद्धि भएको छ । हालै एफबीआईले बार्षिक अपराध रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो बर्षको तुलनामा सन् २०२० मा अमेरिकामा नरसंहारमा २९ दशमलव ४ प्रतिशतले बृद्धि भएको जनाएको थियो  । सन् १९६० को दशकदेखि एफबीआईले अपराध रेकर्ड राख्न थालेयता नै अघिल्लोबषएको तुलनामा यति धेरै अपराधमा बृद्धि भएको पहिलोपटक भएको जनाइएको छ ।

सन् २०२० मा अमेरिकाभर २१ हजार ५ सय ७० नरसंहारका घटना भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अमेरिकामा सन् २०२० मा १३ लाख हिंशात्मक अपराधका घटनाहरु भएका छन् । जुन सन् २०१९ को तुलनामा ५ प्रतिशतले बढी हो । गतबर्ष २१ हजार ५ सयभन्दा धेरै हत्याका घटनाहरु भएका छन् । एकबर्षमा यति धेरै नससंहारका घटनाहरु सन् १९९० को मध्ययता पहिलोपटक रेकर्ड गरिएको हो ।

सन् १९८० र सन् १९९० को दशकमा भने अमेरिकामा नरसंहारका घटना सबैभन्दा बढी देखिएका थिए । त्यतीबेलाको तुलनामा भने हत्यादर ४० प्रतिशतले कम रहेको छ । रिपोर्ट अनुशार सन् २०२० मा नरसंहारका घटनाहरु जुन र जुलाईमा उच्च देखिएका थिए । त्यसपछिका महिनाहरुमा बढ्दै गएको देखिएको छ ।

एफबीआईएले हरेकबर्ष अपराधबारेको तथ्यांक रिपोर्ट तयार गर्नका लागि कानून कार्यान्वायन एजेन्सीहरुबाट अपराधबारेका तथ्यांकहरु संकलन गर्दै आएको छ । झण्डै १८ हजार त्यस्ता एजेन्सीहरुमध्ये सन् २०२० मा १५ हजार ८ सय ७५ ले अपराधका तथ्यांकहरु एफबीआईएलाई दिएका थिए । एजेन्सीहरुले तथ्यांक बुझाएको दर ८५ प्रतिशत रहेको थियो । त्यसैले यो रिपोर्ट केही अपूरो रहेको छ । यद्यपी यसले अमेरिकामा अपराधको परिदृश्यलाई भने झल्काएको छ ।

तर एफबीआईएले अपराधबारे भएका विभिन्न सर्वेक्षणमा पनि नजर राख्दै आएको छ । अपराध न्याय र कोभिड १९ का लागि राष्ट्रिय आयोगले गरेको एउटा सर्वेक्षणमा पनि अमेरिकामा नरसंहारका घटनामा ३० प्रतिशतले नै बृद्धि भएको देखाइएको छ । नरसंहारका घटनाहरु बन्दुक हिंशाका घटनासँग जोडिएका छन् । सन् २०१९ मा बन्दुक हिंशाका घटनामा ३९ हजार ५ सय ३८ जनाको मृत्यु भएको थियो भने सन् २०२० मा ४३ हजार ५५९ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो बर्षको तुलनामा झण्डै ४ हजारले बढी हो ।

यूसीआरको रिपोर्ट अनुशार अमेरिकामा सन् २०२० मा भएका ७७ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । सन् २०१९ मा भने ७४ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । बन्दुक बिक्रिबारे कुनै तथ्यांक नभएपनि कोरोना महामारीमा अमेरिकामा बन्दुकको बिक्रिमा उल्लेख्य बिक्रि भएको स्वतन्त्र सर्वेक्षणहरुले देखाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com