अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता, सम्बन्धमा नयाँ अध्यायको प्रयास


प्रकाशित मिति : आश्विन २३, २०७८ शनिबार

तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच कतारको दोहामा छलफल भएको छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि भएको यो वार्ता महत्त्वपूर्ण मानिएको छ । दुईदेशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने विषयमा वार्ता भएको अफगानिस्तानका कार्यकारी विदेशमन्त्री मुल्लाह अमिर खान मुत्ताकीले जनाएका छन् ।

अफगानिस्तानमा मानवीय सहायता लगायतका र सन् २०२० मा भएको सहमति कार्यान्वयनका विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अधिकारीहरूबीच शनिबार छलफल भएको जनाइएको छ । अफगानी प्रतिनिधिमण्डलले अमेरिकासमक्ष अफागानिस्तानको केन्द्रीय बैंक भण्डारमा लगाएको प्रतिबन्ध हटाउन समेत माग गरेको छ । अमेरिकाले अफगानिस्तानका जनतालाई भ्याक्सिन उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले यो वार्ता तालिवानलाई अफगानिस्तानको नेता बनाउने वा बैधानिकता दिने बारेमा नरहेको बताएका छन् । अमेरिकाको राष्ट्रिय हितका मुद्दाहरुमा व्यावहारिक वार्ताको एक निरन्तरता रहेको अमेरिकी भनाई रहेको छ ।

तालिवान लडाकु र अफगानी पुरुषहरु काबुलमा प्राथनामा सहभागी हुँदै ।

आफूहरुको् प्राथमिकता अफगानिस्तानबाट जोखिममा रहेका अफगानीहरु, अमेरिकी नागरिक र अन्य विदेशी नागरिकहरुको सुरक्षित प्रस्थान रहेको अमेरिकी विदेशमन्त्रीले जनाएका छन् । त्यस्तै आफूहरुको अर्को लक्ष्य तालिवानहरुलाई अफगानी महिला र केटीहरु लगायत अफगानी जनताको अधिकारको सम्मान गर्न प्रोत्साहन गर्नु रहेको अमेरिकी भनाई छ ।

अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिबानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । अफगानिस्तानका प्रतिनिधिहरुले युरोपियन युनियनका प्रतिनिधिहरुलाई समेत भेट्दैछन् ।

अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनपछि पनि त्यहाँ निरन्तर आक्रमणका घटनाहरु भने भइरहेका छन् । शुक्रबारमात्र एउटा आत्मघाती हमलामा कम्तीमा ४६ जना अल्पसंख्यक शिया मुसलमानको मृत्यु भएको छ । अमेरिकाले अफगानिस्तान छाडेपछिको यो सबैभन्दा खराब आक्रमण हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com