भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम


प्रकाशित मिति : आश्विन २३, २०७८ शनिबार

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ ।

अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि सात महिना पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३६ हजार ६४३ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । अघिल्लो दिन भने दुई लाख ४० हजार २२१ जना रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका थिए ।

भारतमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाइदै

भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या २३ हजार ७० रहेको छ । यो सङ्ख्या सोही अवधिमा नयाँ सङ्क्रमितहरुको भन्दा झण्डै चार हजार बढी हो ।

भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ४८ हजार २९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् ।

गत शुक्रबार १२ लाख ६९ हजार २९१ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्म कुल ५८ करोड १३ लाख १२ हजार ४८१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com