बर्षेनी ५ लाख बढीको ज्यान लिने मलेरियाबिरुद्धको पहिलो भ्याक्सिन विश्व स्वास्थ्य संगठनबाट स्वीकृत
प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार
विश्व स्वास्थ्य संगठनले बुधबार मलेरियाबिरुद्ध बालबालिकामा व्यापक प्रयोग गरिने भ्याक्सिनलाई समर्थन गरेको छ । मलेरियाका कारण विश्वमा हरेकबर्ष ५ लाखभन्दा धेरैको ज्यान जाने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुशार ज्यान गुमाउनेहरुमध्ये २ लाख ६० हजारभन्दा धेरै ५ बर्षभन्दा कम उमेरका अफ्रिकन बालबालिकाहरु रहेका छन् । संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्नेगर्छ ।
बालबालिकाहरुका लागि बहुप्रतिक्षित मलेरियाबिरुद्धको भ्याक्सिन विज्ञानमा नयाँ प्रगति भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले यो भ्याक्सिन मलेरियाको उच्च र मध्यम खालको संक्रमणको जोखिम भएको क्षेत्रमा लगाउनका लागि स्वीकृत गरेको जनाएको छ ।

भ्याक्सिनबारे विश्व स्वास्थ्य संगठनको सिफारिस घाना, केन्या र मालावीमा संचालित कार्यक्रममा आधारित रहेको छ । त्यहाँ सन् २०१९ देखियता ८ लाखभन्दा बढी बालबालिकाहरु यो कार्यक्रममा सहभागी थिए । भ्याक्सिन लगाएका बालबालिकाहरुमा सिकिस्त बनाउने खालको मलेरियामा ३० प्रतिशतले कमी आएको थियो ।
विश्व स्वास्थ्य संगठनले ५ महिनाभन्दा बढी उमेरका बालबालिकाहरुका लागि ४ डोज भ्याक्सिन सिफारिस गरेको छ ।
मलेरिया पुरानो खतरनाक संक्रामक रोग हो । मलेरियाबिरुद्धको यो भ्याक्सिन ग्यालेक्सो स्मीथ क्लेनले बनाएको हो । यो खोप मलेरियाबिरुद्धको मात्र पहिलो होइन, यो कुनै परजीवी रोगबिरुद्ध लागी पहिलो विकसित खोप हो।






