वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि, उपत्यकामा कति बढ्यो?


प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार

काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। वाग्मती प्रदेशमा १३ जिल्ला छन् ।

काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको छ। काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाइएको छ। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडादर कायम गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयअनुसार यातायात व्यवस्था विभागबाट २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए। ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो। लामो समयदेखि ट्याक्सीको भाडा समायोजन नगरिएको भन्दै ट्याक्सी व्यवसायीले पनि आन्दोलन गर्दै आएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com