थप ३ युरोपियन देशको यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको सुझाव
प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार
अमेरिकाले थप ३ युरोपियन देशको यात्रा नगर्न आफ्ना नागरिकलाई सुझाव दिएको छ । युरोपियनहरुले नोभेम्बरको पहिलो साताबाट भ्याक्सिन लगाएकाहरुका लागि अमेरिका यात्राका लागि प्रतिबन्ध हट्ने अपेक्षा गरिरहँदा अमेरिकाले भने थप तीन युरोपियन युनियनभित्रका देशलाई उच्च जोखिमयुक्त देशको सुचीमा राखेको छ ।
अमेरिकी सरकारको विदेश मन्त्रालयले अष्ट्रिया, क्रोएसिया र लाटभियालाई उच्च जोखिमयुक्त सुचीमा राख्दै ती देशहरुमा सकभर यात्रा नगर्न आफ्ना नागरिकहरुलाई सुझाव दिएको हो । विभिन्न चारवटा श्रेणी निर्धारण गर्दै यी देशहरुलाई चौथो श्रेणीमा थप गरिएको हो ।
नर्वे, बुल्गेरिया, स्लोभेनिया, लिथुवानिया, स्वीट्जरल्याण्ड, इस्टोनिया, ग्रिस, आयरल्याण्ड, स्पेन र साइप्रसलाई पनि अमेरिकाले चौथो श्रेणीमा नै राख्दै यी देशहरुमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई सुझाव दिएको छ । फ्रान्स, पोर्चुगल र आइसल्याण्डलाई भने अमेरिकाले उच्च जोखिमयुक्त देशको सुचीबाट हटाएर पहिलेको तुलनामा कम जोखिमयुक्त तेश्रोमा सुचिकृत गरेको छ ।
नोभेम्बरदेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण देखाउने सबै भिसावाहक विदेशीहरुले अमेरिका प्रवेश पाउने अमेरिकाले घोषणा गरिसकेको छ । अमेरिकाले बेलायत, युरोपियन युनियन लगायतका ३० देशबाट यात्रा गर्नका लागि प्रतिबन्ध लगाएकोमा नोभेम्बरदेखि ती देशबाट यात्रा गर्नका लागि पनि भ्याक्सिन लगाएकाहरुलाई छुट दिइने भएको छ ।

अमेरिका प्रवेशका लागि उनीहरुले भ्याक्सिन लगाएको प्रमाण र तीनदिनभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । भ्याक्सिन लगाएको प्रमाण देखाउने सवै विदेशीहरुलाई अमेरिका प्रवेश दिइने नियम नोभेम्बरको पहिलोसाताबाट लागु हुने अपेक्षा गरिएको छ । एयरलाइन्स र अन्य ट्राभल उद्योग समुहहरुले यात्रा प्रतिबन्ध हटाउन माग गर्दै आएपनि अहिलेसम्म बाइडेन प्रशासनले ट्रम्प प्रशासनको ३० देशमाथिको यात्रा प्रतिबन्ध लागु गर्दै आएको छ ।
बाइडेन प्रशासनले अमेरिका फर्कन लागेका भ्याक्सिन नलगाएका अमेरिकनहरुका लागि समेत नियम कडा बनाउने भएको छ । उनीहरुले अमेरिका प्रस्थान गर्नुभन्दा एकदिन अगाडि कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ भने अमेरिका आइसकेपछि पनि कोरोना परीक्षण गराउनुपर्नेछ ।
भ्याक्सिन बृहत रुपमा उपलब्ध भइसकेपछि युरोपियन र बेलायती अधिकारीहरुले आफ्नो देश यात्रा गर्ने भ्याक्सिन लगाएका अमेरिकनहरुका लागि नियम खुकुलो बनाएका थिए । तर अमेरिकाले सोही अनुशार उनीहरुका लागि नियम खुकुलो बनाएको थिएन । अब सीडीसीले पनि अमेरिका आउने हरेक यात्रुको इमेल र फोन नम्बर लगायतका विवरणहरु राख्नुपर्नेगरी एयरलाइन्सहरुलाई आदेश जारी गर्ने भएको छ ।
अहिलेसम्म भ्याक्सिन स्वीकृत नगरिएका उमेरका बालबालिकाहरुका लागि भने छुट दिइनेछ । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुलाई अमेरिका फर्केपछि क्वारेन्टीन अनिवार्य गरिने छैन भने भ्याक्सिन नलगाएकाहरुलाई कडा नियम लागु गरिनेछ ।






