सरकार शटडाउनलाई टार्दै दुबै सदनबाट पारित अस्थायी खर्च विधयेकमा राष्ट्रपतिबाट हस्ताक्षर
प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार
डिसेम्बरसम्म सरकारलाई खर्च उपलब्ध गराउने अस्थायी खर्च विधयेक दुबै सदनबाट पारित भएपछि त्यसमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । अब अमेरिकामा डिसेम्बर ३ सम्म सरकार शटडाउनको सम्भावना टरेको छ ।
पचास पचासमा विभाजित सिनेटबाट यो विधयेक पारित गराउन निकै मिहिनेत गर्नुपरेको थियो ।फिलिबस्टर ६० भोटको आवश्यकता पर्ने भएकाले पचास पचासमा विभाजित सिनेटमा रिपब्लिकनको समर्थन आवश्यक परेको हो । बुधबार राती उक्त विधयेकबारे सिनेटमा सहमति कायम भएको थियो ।
बिहीवार सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ मत परेको थियो भने विपक्षमा ३५ मत खसेको थियो। १५ जना रिपब्लिकनहरूले विधेयकको पक्षमा मतदान गरेका थिए। तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा भने पक्षमा २५४ र विपक्षमा १७५ मत खसेको थियो।

सरकार शटडाउन हुँदा अमेरिकी अध्यागमनमा समेत असर पर्छ । अध्यागमनबारेका केही प्रकृयाहरु सुचारु भएपनि केही प्रभावित हुन्छन् । सरकार शटडाउनमा अध्यागमन अदालतमा रहेका एसाइलमका सुनुवाईहरु प्रभावित हुन्छन् । डिपार्टमेन्ट अफ लेवरका अध्यागमनबारेका कामहरु रोकिन्छन् । स्थायी लेबर सर्टिफिकेशन, लेबर कन्डिशन आवेदन, प्रचलित ज्याला निर्धारण वा अस्थायी लेबर सर्टिफिकेशन प्रकृयामा लगिदैन । अनलाइन आवेदन प्रणालीले स्थायी लेबर सर्टिफिकेशन लगायतका यी आवेदन स्वीकार गर्दैन ।
आवेदकको शुल्कबाट चल्ने युएससीआईएसले शटडाउनमा पनि अध्यागमन सुविधाका आवेदनहरु प्रकृयामा लैजान्छ । तर शटडाउनमा सुरक्षा सफाई लगायतका काम गर्ने एजेन्सी प्रभावित हुन्छन्। अमेरिकी विदेश मन्त्रालय अन्तरगत दूतावास वा कन्सुलेटबाट भिसा प्रकृयामा लैजाने काम प्रभावित हुदैनन् । तर शटडाउनमा संघीय भवनहरुमा रहेका केही पासपोर्ट कार्यालयहरु प्रभावित हुन्छन् ।
त्यस्तै एयरपोर्ट र सिमाक्षेत्रमा सीबीपीको काम सुचारु हुन्छ । तर शटडाउनमा इलेक्ट्रोनिक प्रमाणिकरणको काम रोकिन्छ । रोजगारदाताले इलेक्ट्रोनिक प्रमाणिकरण सुरुवात गर्न सक्दैनन् । तर रोजगारदाताले शटडाउनका कारण कामदारको काम गर्न पाउने नपाउने योग्यता प्रमाणित नभएको खण्डमा कामदारबिरुद्ध कुनै प्रतिकुल कदम चाल्न पाउदैनन् ।






