अस्थायी खर्च विधयेकमा सिनेटमा सहमति, अमेरिकी सरकार शटडाउन नहुने


प्रकाशित मिति : आश्विन १४, २०७८ बिहीबार

डिसेम्बरसम्म सरकारलाई खर्च उपलब्ध गराउने अस्थायी खर्च विधयेकबारे सिनेटमा सहमति भएको सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले बताएका छन् । अब बिहिबार उक्त अस्थायी खर्च विधयेकमाथि सिनेटमा मतदान हुने जनाइएको छ । बिहिबारसम्म अस्थायी खर्च विधयेक पारित नभए सरकार शटडाउनको सम्भावना रहेको थियो ।

बुधबार राती सरकार शटडाउन हुन नदिन अस्थायी खर्च विधयेक अगाडि बढाउने सहमति भएको हो । बिहिबार विहानै यसमा मतदान हुने भएको छ । यो विधयेक पारित गर्न कम्तीमा १० जना रिपब्लिकनको पनि समर्थन आवश्यक पर्छ । फिलिबस्टर ६० भोटको आवश्यकता पर्ने भएकाले पचास पचासमा विभाजित सिनेटमा रिपब्लिकनको समर्थन आवश्यक परेको हो ।

शुमरबाट घोषणा गरिएको सहमतिले डिसेम्बर ३ सम्म सरकार शटडाउन हुनबाट जोगाउनेछ । प्रतिनिधिसभाबाट सरकारी खर्च विधयेक गतसाता २२० मतका साथ पारित भएको थियो । विधयेकका विपक्षमा २११ मत खसेको थियो । सोमबार सिनेटले भने प्रकृयामा लैजानका लागि गरिएको मतदानमा नै उक्त विधयेक अगाडि बढ्नबाट रोकेको थियो । सिनेटको सहमतिमा ऋणको लिमिट बढाउने विषय समावेश छैन तर अफगाना शरणार्थी र हरिकेन आइदा पीडितका लागि सहायताको विषय समावेश छ ।

सरकार शटडाउन भएमा अमेरिकी अध्यागमनमा समेत असर पर्छ । अध्यागमनबारेका केही प्रकृयाहरु सुचारु भएपनि केही प्रभावित हुन्छन् । सरकार शटडाउनमा अध्यागमन अदालतमा रहेका एसाइलमका सुनुवाईहरु प्रभावित हुन्छन् । डिपार्टमेन्ट अफ लेवरका अध्यागमनबारेका कामहरु रोकिन्छन् । स्थायी लेबर सर्टिफिकेशन, लेबर कन्डिशन आवेदन, प्रचलित ज्याला निर्धारण वा अस्थायी लेबर सर्टिफिकेशन प्रकृयामा लगिदैन । अनलाइन आवेदन प्रणालीले स्थायी लेबर सर्टिफिकेशन लगायतका यी आवेदन स्वीकार गर्दैन ।

आवेदकको शुल्कबाट चल्ने युएससीआईएसले शटडाउनमा पनि अध्यागमन सुविधाका आवेदनहरु प्रकृयामा लैजान्छ । तर शटडाउनमा सुरक्षा सफाई लगायतका काम गर्ने एजेन्सी प्रभावित हुन्छन्।

अमेरिकी विदेश मन्त्रालय अन्तरगत दूतावास वा कन्सुलेटबाट भिसा प्रकृयामा लैजाने काम प्रभावित हुदैनन् । तर शटडाउनमा संघीय भवनहरुमा रहेका केही पासपोर्ट कार्यालयहरु प्रभावित हुन्छन् ।

त्यस्तै एयरपोर्ट र सिमाक्षेत्रमा सीबीपीको काम सुचारु हुन्छ । तर शटडाउनमा इलेक्ट्रोनिक प्रमाणिकरणको काम रोकिन्छ । रोजगारदाताले इलेक्ट्रोनिक प्रमाणिकरण सुरुवात गर्न सक्दैनन् । तर रोजगारदाताले शटडाउनका कारण कामदारको काम गर्न पाउने नपाउने योग्यता प्रमाणित नभएको खण्डमा कामदारबिरुद्ध कुनै प्रतिकुल कदम चाल्न पाउदैनन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com