अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोनाबिरुद्धको भ्याक्सिनको ‘बुस्टर डोज’


प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबिरुद्धको भ्याक्सिनको ‘बुस्टर डोज’ लिएका छन् । अमेरिकामा सीडीसी र एफडीएले बुस्टर डोज स्वीकृत गरेको केहीदिन लगत्तै बाइडेन सोमबार दिउसो ह्वाइटहाउसमा बुस्टर डोज लिएका हुन् ।

बुस्टर डोज लिंदै बाइडेनले बुस्टर डोज लगाउँदा आफ्नोमात्र नभई आफ्नो आसपासमा रहनेहरुको पनि जीवन बताउनसक्ने बताए । उनले योग्यहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनको बुस्टर डोज लिनसमेत प्रेरित गरेका छन् । अमेरिकामा सीडीसी र एफडीएको मापदण्डभित्र पर्ने बुस्टर डोजका लागि योग्य जनसंख्या झण्डै २ करोड रहेको छ ।

राष्ट्रपति बाइडेनले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज गत जनवरीमा सपथग्रहण समारोहभन्दा अगाडि नै लिएका थिए । उनले त्यसपछि भ्याक्सिनको दोश्रो डोज लिएको पनि ६ महिना नाघिसकेको छ । बाइडेनले फाइजरको भ्याक्सिन लगाएका थिए । ७८ बर्षका राष्ट्रपति बाइडेन सीडीसी र एफडीएको मापदण्ड अनुशार बुस्टर डोजका लागि योग्य रहेका छन् ।

सोमबार प्रथम महिला जील बाइडेन भने भ्याक्सिन लगाउन उपस्थीत थिइनन् । उनी कलेजमा पढाउन गएकाले उपस्थीत हुन नसकेको जनाइएको छ । जील बाइडेनले वासिंटन डिसीभन्दा बाहिरको नर्दन भर्जिनिया कम्युनिटी कलेजमा पढाउँछिन् ।

गत बिहिबारको अमेरिकन सीडीसीका लागि भ्याक्सिन सल्लाहकारहरुको लामो र कडा तर्क र बहसपछि शुक्रबार विहानै सीडीसीले ६५ बर्षभन्दा माथिकालाई र उच्च जोखिममा रहेकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो बुस्टर डोज दिने एफडीएको निर्णयलाई नै सदर गरेको थियो । ६५ बर्षभन्दा माथिका, दीर्घकालिन हेरचाह केन्द्रमा रहनेहरु र स्वास्थ्य समस्या भएका निश्चित व्यक्तिहरुका लागि बुस्टर डोज स्वीकृत गरिएको हो ।

सीडीसीका सल्लाहकारहरुले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको बुस्टर डोज ६५ बर्ष वा त्योभन्दा माथिका र दीर्घकालिन हेरचाह केन्द्रहरुमा बस्नेहरुलाई भ्याक्सिनको पूर्ण डोज लगाएको ६ महिना नाघेपछि बुस्टर डोज दिनसकिने विषय एकमतले पारित गरेका थिए । त्यस्तै ५० बर्ष वा त्योभन्दा माथिका उच्च जोखिममा रहेका क्यान्सर, स्ट्रोक, मृगौला रोग, मधुमेह, मुटुरोग लगायतबाट पीडितहरुका लागि पनि बुस्टर डोज सहजै स्वीकृत गरिएको थियो ।

तर ५० बर्षभन्दा कम उमेरका उक्त समुहमा पर्नेलाई बुस्टर डोज आवश्यक भए नभएकोबारे मत विभाजन भएको थियो ।  १८ देखि ४९ बर्षसम्मका उक्त समुहका व्यक्तिका लागि पनि पक्षमा ९ र विपक्षमा ६ मतले बुस्टर डोज स्वीकृत गरिएको थियो ।

१८ बर्षभन्दा माथिका प्राय सबैलाई बुस्टर डोज दिने ह्वाइटहाउसको योजना रहेपनि एफडीए र सीडीसीका सल्लाहकारहरुमा आएको मत विभाजनका कारण सबैलाई बुस्टर डोज नदिइने भएको छ ।

अमेरिकामा अहिलेसम्म २२ करोड डोजभन्दा बढी फाइजर भ्याक्सिन लगाइसकिएको छ । यो भ्याक्सिन पूर्णरुपमा लगाउनेहरु अमेरिकामा सबैभन्दा धेरै झण्डै १० करोड रहेका छन् । मोडेर्ना भ्याक्सिन पूर्णरुपमा लगाउनेहरु अमेरिकामा सबैभन्दा झण्डै पौने ७ करोड रहेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउनेहरु झण्डै डेढ करोड छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com