जर्मनी चुनाव: मर्केलको पार्टीको तुलनामा थोरै सिट बढी ल्याएर सोसल डेमोक्रेटिक पार्टी विजयी


प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार

जर्मनीमा एङ्गेला मर्केलको मध्यम दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन र त्यसको बेभेरियन साझेदार क्रिश्चियन सोसल युनियनका तुलनामा बढी सिट ल्याएर सोसल डेमोक्रेटिक पार्टी विजयी भएको छ । आइतबार दशौं लाख मतदाताहरुले १६ बर्षपछि मर्केलको विकल्प छान्न त्यहाँको संसदको तल्लो सदन बुन्डेस्टागको निर्वाचनमा मतदान गरेका थिए ।

सबै २९९ निर्वाचन क्षेत्रको चुनावी परिणाम आइसक्दा सोसल डेमोक्रेटिक पार्टी २५ दशमलव ७ प्रतिशत , मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन २४ दशमलव १ प्रतिशत , ग्रिन पार्टी ११४ दशमलव ८  प्रतिशत र फ्रि डेमोक्रेटिक पार्टी ११ दशमलव ५ को स्थानमा देखिएको छ ।

अब बामपन्थी धारको मानिने सोसल डेमोक्रेटिक पार्टीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि वार्ताहरु सुरु गर्नेछ । स्पष्ट बहुमत नभएकाले गठबन्धन सरकार बनाउनका लागि प्रयास सुरु गरिने जनाइएको छ ।तर अझै पनि आगामी सरकार कसको नेतृत्वमा बन्नेछ भन्ने स्पष्ट छैन । किनभने सोसल डेमोक्रेटिक पार्टी र क्रिश्चियन सोसल युनियन दुबैले गठबन्धन सरकार बनाउनका लागि पहल थाल्ने बताएका छन् । जर्मनीमा दुईमध्ये एक पार्टीले ग्रिन पार्टी वा फ्रि डेमोक्रेटिक पार्टीसँग गठबन्धन गरेर सरकार बनाउने सम्भावना रहेको छ ।

अब  जर्मनीको चान्सलरका रुपमा १६ बर्षपछि एन्जेला मर्केलको स्थान कस्ले लिने भन्ने निर्धारण हुनेछ । झण्डै ८४ मिलियन जनसंख्या भएको जर्मनीमा यसपटकको चुनावमा ६० दशमलव ४ मिलियन योग्य मतदाताहरु रहेका थिए । जसमध्ये ३१ दशमलव २ मिलियन महिला र २९ दशमलव २ मिलियन पुरुष रहेका थिए ।

जर्मन नेताहरु मतदान स्थलतिर अगाडि बढ्दै

सन् २०१७ को सेप्टेम्बरमा मर्केलले चुनावमा जीत हासिल गर्दा गठबन्धन सरकार बनाउन ५ महिनाभन्दा बढी समय लागेको थियो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको जर्मनीमा यो चुनावबाट नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com