जर्मनीमा आइतबार ‘१६ बर्षपछि एन्जेला मर्केलको विकल्प छान्ने’ चुनाव, ६० मिलियन मतदाता


प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार

जर्मनीको चान्सलरका रुपमा १६ बर्षपछि एन्जेला मर्केलको स्थान कस्ले लिने भन्ने निर्धारण गर्न आइतबार लाखौं जर्मनहरुले संघीय चुनावका लागि मतदान गर्दैछन् । झण्डै ८४ मिलियन जनसंख्या भएको जर्मनीमा यसपटकको चुनावमा ६० दशमलव ४ मिलियन योग्य मतदाताहरु रहेका छन् । जसमध्ये ३१ दशमलव २ मिलियन महिला र २९ दशमलव २ मिलियन पुरुष रहेका छन् । आइतबार जर्मनीको तल्लो सदन ‘बुन्डेस्टाग’ को निर्वाचन हुँदैछ ।

पछिल्लो सर्वेक्षण अनुशार मध्यम बाम पार्टीका रुपमा रहेको सोसल डेमोक्रेटिक पार्टी एन्जेला मर्केलको मध्यम दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन र त्यसको बेभेरियन साझेदार क्रिश्चियन सोसल युनियनका तुलनामा थोरैले अगाडि देखिएको छ । त्यसपछि ग्रिनपार्टी, घोर दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी र व्यापारिक समुदायप्रति उदार पार्टीका रुपमा रहेको फ्रि डेमोक्रेटिक पार्टी अग्रपंक्तिमा रहेका छन् ।

जर्मनीको ग्रिन पार्टीकी नेतृ डी गुरिनन । एएफपी ।

दुईवटा परम्परागत पार्टीहरुले विविधतायुक्त जर्मनीमा आफ्नो पम्परागत आधारभन्दा बाहिरका धर्म वा बर्गको वास्ता नगर्ने मतदाताहरुलाई आकर्षित गर्नमा असफल देखिएका छन् । त्यस्ता मतदाताहरुले परम्परागत पार्टीहरुभन्दा बाहिरका पार्टी वा समुहहरुलाई रोज्ने सम्भावना पनि रहेको छ । त्यस्तै एन्जेला मर्कलको बहिर्गमन र उनको स्थान लिनसक्ने स्पष्ट उत्तराधिकारीको अभावबाट उत्पन्न रिक्तताका कारण पनि चुनावी राजनीतिमा प्रभाव पारेको छ ।

कैयन मतदाताहरुले जर्मनीका परम्परागत पार्टीहरुले जलवायु परिवर्तनको सामना गर्न उल्लेख्य काम गर्न नसकेका कारण ग्रिन पार्टीलाई मतदान गर्ने बताइरहेका छन् । मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनका तर्फबाट चान्सलर उम्मेबार अर्मिन लाशेटप्रति विगतमा क्रिश्चियन डेमोक्रेटिक युनियनलाई भोट हालेका कैयन मतदाताहरु समेत आकर्षित देखिएका छैनन् ।

सोसल डेमोक्रेटिक पार्टीका ओलाफ सोल्स ।एपी फोटो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको जर्मनीमा यो चुनावबाट नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ । आइतबारको चुनावको नतिजा अहिले नै अनुमान गर्न गाह्रो भएतापनि सर्वेक्षणहरुले चुनावमा दक्षिणपन्थी धारतिर ढल्किएको सोसल डेमोक्रेटिक पार्टीका ओलाफ सोल्स आगामी चान्सलर हुनसक्ने संकेत गरेका छन् । उनले मर्केलसँगको गठबन्धनमा अर्थमन्त्रीका रुपमा रहेर महामारीमा जर्मनीको अर्थतन्त्रलाई अगाडि बढाएका थिए । ग्रिन पार्टीले संसदमा आफ्नो सिट संख्या दोब्बर बनाउने प्रक्षेपण सर्वेक्षणहरुले गरेका छन् ।

क्रिश्चियन डेमोक्रेटिक युनियनका तर्फबाट चान्सलर उम्मेबार अर्मिन लाशेट ।एपी फोटो ।

जर्मनीको संसदमा ५ प्रतिशतको थ्रेसहोल्ड पार गरेको पार्टी राष्ट्रिय पार्टीमा दरिन्छ, अथवा प्रत्यक्षतर्फ कम्तीमा तीन सिट जित्नुपर्छ । अहिलेको संससदमा सातवटा पार्टीले यो थ्रेसहोल्ड पार गरेका छन् । जर्मनीमा मिश्रित निर्वाचन प्रणाली छ  । तल्लो सदन बुन्डेस्टागमा ५९८ सांसद निर्वाचित हुनेमा २९९ प्रत्यक्ष मतदानद्वारा र बाँकी पार्टीको सूचीबाट चयनबाट आउँछन् । प्रत्यक्ष मतदान र पार्टीको सुचीमा रहेकाहरुको मतदानका लागि फरकफरक मतपत्र हुन्छन् ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com