अमेरिकी सिमाक्षेत्रमा हैटियन आप्रवासी संकटले बाइडेन प्रशासनमा गहिरो विभाजन


प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार

अमेरिकाको दक्षिणी सिमाक्षेत्र टेक्सासमा उत्पन्न हैटियन आप्रवासी संकटले बाइडेन प्रशसनमा उक्त संकटको सम्बोधन कसरी गर्ने भन्ने सन्दर्भमा गहिरो विभाजन श्रृजना गरेको छ । हैटीका लागि अमेरिकी विशेष दूत डानियल फुटले सिमाक्षेत्रमा हैटियन आप्रवासी संकटको सम्बोधन उचित तरिकाले नभएको र अमानवीय रहेको भन्दै राजिनामा दिएपछि उक्त विभाजन सतहमा आएको छ ।

अन्य कैयन डेमोक्रेटिक नेताहरुले पनि सिमाक्षेत्रमा आएका हैटियन आप्रवासीलाई सम्हाल्ने तरिका उचित नभएको भन्दै आलोचना गरेका छन् । बाइडेन प्रशासनले गैरकानूनी रुपमा सिमाक्षेत्रमा आउने हैटियनहरुलाई फिर्ता पठाउने बताइरहँदा डेमोक्रेटिक नेताहरुले त्यसको आलोचना गरेका हुन् । तर टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग अबोटले गैरकानूनी रुपमा सिमा पार गर्न खोज्नेहरुको प्रवाह रोक्न बाइडेन प्रशासनले प्रयाप्त कदम नचालेको बताउँदै अझै कडा गर्नुपर्ने बताएका छन् ।

सिमा सुरक्षा अधिकारीहरुले घोडामा चढेर आप्रवासीहरुलाई समातेका तस्वीरहरु बाहिर आएपछि भएको आलोचनासँगै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासीलाई नियन्त्रणमा लिनका लागि घोडाको प्रयोगमा अस्थायी रोक लगाएको छ । टेक्सासको डेल रिओ क्षेत्रमा सिमा सुरक्षा अधिकारीहरुलाई घोंडामा चढेर गस्ती नगर्न निर्देशन दिइएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले आफू त्यस्ता तस्वीरहरु देखेर भयभीत भएको बताएका छन् । डेमोक्र्याट्सहरुले सिमाक्षेत्रमा हैटियन आप्रवासीहरुप्रति बाइडेन प्रशासनले गरेको व्यवहारप्रति आक्रोश व्यक्त गरिरहेका छन् । बाइडेन प्रशासनले सिमाक्षेत्रमा आएका हैटियनहरुको देशनिकाला दोब्बर अर्थात् औषतमा प्रतिदिन एकहजार बनाउने योजना बनाइरहेको छ ।

तस्वीर: एएफपी

हैटीको संकट र अध्यागमन नीतिबारेको गलत प्रचार

विश्वका विभिन्न देशका नागरिकले अमेरिकाको सिमा गैरकानूनी रुपमा पार गर्न खोज्ने दर २० बर्षमा नै सबैभन्दा उच्च रहेको छ भने हैटियनहरु त्यसैको बढ्दो भागका रुपमा रहेका छन् । हालै भएको राष्ट्रपतिको हत्या र भूकम्प लगायत आफ्नो देशमा रहेको राजनीतिक, आर्थिक र मानवीय संकटका कारण हैटियनहरुले देश छाडेर गैर कानूनी रुपमा अमेरिका प्रवेश गर्न खोजेका हुन् । विगत केहीमहिनादेखि गैरकानूनी रुपमा अमेरिकाको सिमा पार गरेर अमेरिका आउन खोज्ने हैटियनको संख्या ह्वात्तै बढेको छ ।

गैरकानूनी रुपमा अमेरिका छिर्ने क्रममा अमेरिका दक्षिणी टेक्सासको सिमाक्षेत्रमा रहेको पुलमुनि हजारौं हैटियनहरु सुतिरहेका छन् ।अमेरिका छिर्नका लागि सिमाक्षेत्रमा आएका हैटियनको संख्या झण्डै १० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरुमध्ये अधिकांश भूकम्प लगायतका संकटका कारण हैटी छाडेर दक्षिण अफ्रिकामा गएका र त्यहाँबाट अहिले अमेरिका छिर्न चाहेकाहरु हुन् । अमेरिकामा बढी कमाई हुने आशा र ब्राजिल लगायतमा मुलुकमा महामारीको खराब अवस्थाका कारण हैटियनहरु अमेरिकातिर हान्निएका हुन् ।

आर्थिक, राजनीतिक र सुरक्षा खतरा लगायतका विभिन्न कारणबाट अमेरिका आउन चाहेका उनीहरु बाइडेन प्रशासनको पालमा अमेरिका छिर्न सहज हुने अपेक्षाका साथ आएको विश्लेषण गरिएको छ । उनीहरुलाई हालै मेक्सिकन सरकारले मुलुकको दक्षिणी सिमाबाट अगाडि बढ्नमा रोकेको थियो । एकदशकमै यति धेरै हैटियनहरु आफ्ना लागि अमेरिकाको ढोका खुल्ने आशामा एकैपटक अमेरिकातिर आएका हुन् ।

तस्वीर : एपी

बाइडेन प्रशासनले विगतको ट्रम्प प्रशासनको तुलनामा अध्यागमन नीतिहरुमा महत्वपूर्ण परिवर्तनहरु त गरेको छ । तर तीब्र गतिको देशनिकालाका लागि बाइडेन प्रशासनले पनि ट्रम्प प्रशासनकै हतियार प्रयोग गरेको छ । महामारीमा प्रयोग गरिएको टाइटल ४२ नामको स्वास्थ्यको कारण देखाउदै सिमाक्षेत्रबाट यथाशीघ्र आप्रवासीहरुलाई हटाउन खोजिएको छ । यो प्रावधान अनुशार आप्रवासीहरुलाई एसाइलमको अवशर नदिइकनै देशनिकाला गरिएको छ ।

हैटियनहरु टेक्सासको डेल रिओमा पुलमुनि अस्थायी रुपमा शिविर बनाएर बसेका छन् । उनीहरु सरकारले पक्राउ गर्ने र एसाइलमको प्रकृयामा लैजाने प्रतिक्षामा त्यहाँ बाहिरै बसेका हुन् । अन्य स्थानको तुलनामा केही सुरक्षित मानिने भएकाले उनीहरुले सिमाक्षेत्रको यो स्थानलाई रोजेका छन् ।

तर खाना लिन, फोनहरु चार्ज गर्न, आफन्तहरुले पठाएको नगद लिन उनीहरु सिमानाको मेक्सिकोको भागतिर जानुपर्ने हुन्छ । जब हैटीयनहरु त्यता गएर आउँदै थिए, त्यतीबेला अमेरिकन सिमा सुरक्षा अधिकारीहरुले उनीहरुलाई घोडा चढेर समात्न प्रयास गरेका तस्वीरहरु सार्वजनिक भएका हुन् ।

बाइडेन प्रशासनले हैटीको अवस्था एकदमै खराब भएको स्वीकार गरेको छ । केही महिना अगाडि हैटीको अवस्था असाधारण रहेको भन्दै अमेरिकामा पहिले नै रहेका हजारौं हैटियनको लागि बाइडेन प्रशासनले टीपीएस समेत स्वीकृत गरेको थियो । सन् २०१० मा भूकम्पपछि पनि अमेरिकाले अमेरिकामा रहेका हैटियनहरुका लागि टीपीएस दिएको थियो । अहिले अमेरिकामा रहेका हैटियनलाई नयाँ टीपीएसको दर्जा प्रदान गरेपछि हैटियनहरु अमेरिकामा आगामी दिनमा आएपनि संरक्षण प्राप्त गरिने आशाले अमेरिकातिर आइरहेका हुन् ।

तस्वीर: एएफपी

अहिले अमेरिका छिरेको खण्डमा कानूनी हैसियत प्राप्त गर्न सकिने भ्रम हैटियनमाझ फैलाइएको आप्रवासन विज्ञहरुको भनाई छ । तर वास्तवमा अमेरिकामा पहिले नै रहेका हैटियनहरुलेमात्र टीपीएसबाट संरक्षण प्राप्त गर्छन्, नयाँ आउनेहरुले होइन । भ्रममा परेर सिमाक्षेत्रमा आएका त्यस्ता हैटियनहरुमध्ये कैयनलाई पक्राउ गरेर हैटीमा नै फिर्ता पठाइसकिएको छ । हैटीबाट भागेर अन्य देशमा बसोबास गरेका र त्यतैबाट अमेरिका आएकाहरुलाई समेत हैटी पठाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com