अमेरिकाले थप ५० करोड डोज फाइजर खोप गरिव देशलाई अनुदान दिने


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

अमेरिकाले विश्वभरका कम आय भएका देशहरूलाई थप ५० करोड अर्थात् ५ सय मिलियन डोज कोरोनाबिरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । फाइजरले अमेरिकी सरकारलाई ५० करोड डोज भ्याक्सिन उपलब्ध गराउने छ भने अमेरिकाले गरिव देशहरुलाई सहायता स्वरुप उपलब्ध गराउने भएको छ ।

बुधबार कम्पनी र अमेरिकी सरकारबीच  थप डोजबारे सहमति भएको हो । जस अनुशार फाइजरले अमेरिकालाई गैरनाफामुलक मूल्यमा ५० करोड डोज खोप दिनेछ भने अमेरिकाले गरिव देशहरुलाई सहयोग गर्नेछ । अब अमेरिकाले गर्ने खोप सहायता एकअर्ब डोज अर्थात् १ बिलियन पुगेको छ ।

प्रारम्भिक सहमति अनुशार अमेरिकाले कम आम्दानी भएका ९२ वटा देशहरु र अफ्रिकन युनियनका ५५ सदस्य राष्ट्रहरुलाई खोप उपलब्ध गराउने फाइजरले जनाएको छ । अमेरिकाले ५ सय मिलियन डोज सहायता गत अगस्तबाट सुरु गरेको थियो भने थप ५ सय मिलियनसहित १ दशमलव १ बिलियन डोज अर्कोबर्षको सेप्टेम्बरसम्म ढुवानी गरिसक्ने अपेक्षा गरिएको छ । बुधबारको सहमति अनुशारको ५ सय मिलियन डोज जनवरीदेखि ढुवानी सुरु गर्ने अपेक्षा गरिएको छ ।

बिहीबार राष्ट्रपति बाइडेनले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई थप ५० करोड फाइजर खोप अनुदान दिनेबारे घोषणा गर्ने जनाइएको छ । ती खोप निशुल्क अनुदान दिइने बताइएको छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

अमेरिकाले जुलाईको दोश्रो साता नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सनको खोप सहायता उपलब्ध गराएको थियो । अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुरुप उक्त खोप पठाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com