अष्ट्रेलियाको मेलबर्न नजिकै ५ दशमलव ९ म्याग्नीच्युड भूकम्प, मेलबर्नमा भवनमा क्षति


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

अष्ट्रेलियाको मेलबर्न नजिकै ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पबाट मेलबर्नमा भवनहरुमा क्षति पुगेको जनाइएको छ ।

जिओसाइन्स अष्ट्रेलियाका अनुशार बुधबार दक्षिणी अष्ट्रेलियाको मेलबर्न नजिक भूकम्प गएको हो । भिक्टोरियाको मेन्सफिल्ड नजिक भूकम्पको केन्द्रबिन्दु रहेको भिक्टोरियन राज्य आपतकालिन सेवाले जनाएको छ ।

सुरुमा अष्ट्रेलियन सरकारले ६ म्याग्नीच्युडको भूकम्प मापन गरेको थियो । तर पछि ५ दशमलव ९ पुष्टी गरिएको छ । युए जिओलोजिकल सर्भेले पनि ५ दशमलव ९ नै मापन गरेको छ ।

मेलबर्नमा केही भवनहरुमा क्षति पुग्नुका साथै मेलबनको केन्द्रीय विजनेश डिस्ट्रिक्टमा विद्युत आपूर्तिमा अवरोध समेत उत्पन्न भएको छ । अष्ट्रेलियाको सबैभन्दा दोश्रो ठूलो सिटी मेलबर्नमा भूकम्पपछि कैयन व्यक्ति सडकमा निस्किएका थिए ।

भूकम्पको धक्का दक्षिणी अष्ट्रेलियाको एडिलेड र सिड्नीमा समेत अनुभव गरिएको थियो ।

सुनामीको खतरा भने नभएको जनाइएको छ । साथै मुख्य भूकम्पको धक्का गएको आधाघण्टापछि ४ म्याग्नीच्युडको पराकम्प समेत मापन गरिएको छ ।

अष्ट्रेलियामा सबैभन्दा खराब भूकम्प सन् १९८८ मा गएको थियो । जुन ६ दशमलव ८ म्याग्नीच्युडको रहेको थियो । आजको भूकम्प अष्ट्रेलियामा ५ बर्षको सबैभन्दा ठूलो भूकम्प भएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com