भ्याक्सिन नलगाउने ब्राजिलका राष्ट्रपतिले राष्ट्रसंघमा जनाए कोरोनाबिरुद्ध लड्ने प्रतिवद्धता


प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन अस्वीकार गर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले राष्ट्रसंघको महासभा बैठकमा गरेको सम्बोधनका क्रममा आफू कोरोना महामारीबिरुद्ध लड्न चाहेको बताएका छन् । कोरोना महामारीको सामना गर्ने सन्दर्भमा आलोचना खेप्दै आएका उनले कोरानाले आश्चर्यजनक रुपमा सन् २०२० मा सबैलाई समातेको आफ्नो सम्बोधनका क्रममा बताए ।

आफूले कोरोनाबिरुद्ध र बेरोजगारीबिरुद्ध एकै समयमा उत्तिकै उत्तरदायीत्वका साथ लड्नुपर्ने विषयमा वकालत गर्दै आएको उनले बताए । उनले लकडाउनका मापदण्डले विश्वमा खासगरी खाद्यान्नमा मुद्रास्फीतिको विराशत छाडेको बताए । सन् २०२० मा ब्राजिलमा गभर्नर र मेयरहरुले लागु गरेको लकडाउनका कारण घरमा बस्नुपरेका र आम्दानी गुमाएकाहरुलाई ८ सय डलरका दरले सहयोग उपलब्ध गराइएको राष्ट्रपति बोल्सोनारोले बताए ।

राष्ट्रपति बोल्सोनारो पटकपटक लकडाउनकाबिरुद्ध बोल्दै आएका थिए । जसका कारण ब्राजिलका स्थानीय सरकारहरुले उनको कडा आलोचना समेत गर्दै आएका थिए । साओ पाउलोका गभर्नर जोआ डोरियाले राष्ट्रपति बोल्सोनारोको कडा आलोचना गरेका थिए । यद्यपी राष्ट्रपति बोल्सोनारोले यो बर्षको नोभेम्बरसम्म कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन चाहने नागरिकहरुलाई निशुल्क उपलब्ध गराइने बताएका छन् ।

आफ्नो सरकार भ्याक्सिन अभियानमा बृहत तरिकाले सहभागिता नजनाएको स्वीकार गर्दै राष्ट्रपति बोल्सोनारोले आफूले भ्याक्सिनबारेका प्रयासहरुको समर्थन गर्ने बताएका छन् । उनले भने -‘हाम्रो सरकारले भने भ्याक्सिन वा स्वास्थ्य पासपोर्ट वा भ्याक्सिन सम्बन्धित अन्य कुनै दायित्वहरुलाई समर्थन गरेको छैन ।’

संयुक्त राष्ट्रसंघको ७६ औं महासभाका क्रममा आज विश्वका नेताहरु न्युयोर्क सिटीमा जम्मा भएका हुन् । सदस्य राष्ट्रहरुले कोरोना महामारीको अन्त्य र महामारीपछि विश्वको अर्थतन्त्र पुन परिभाषित गर्ने दुईवटा समानान्तर चुनौतिहरुमाथि विचार विमर्श गर्ने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com