राष्ट्रपति बाइडेनको राष्ट्रसंघमा पहिलो सम्बोधनः ‘अमेरिकाले विश्वमा नयाँ शीतयुद्ध चाहन्न’


प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार

अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भइसकेपछि आज संयुक्त राष्ट्रसंघको महासभा बैठकमा पहिलोपटक सम्बोधन गरेका छन् । उनले जलवायु परिवर्तन लगायतका मुख्य विषयहरुको सम्बोधन विश्वले मिलेर गर्नुपर्नेमा जोड दिएका छन् ।

अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बाइडेनले बताएका छन् । चीनको नाम नलिइकनै उनले शोभियत संघसँग दशकौं चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका छन् । अमेरिकाले प्रतिस्पर्धा गर्ने र जोडदार प्रतिस्पर्धा गर्ने आफ्नै मूल्य मान्यता र तागतको बलमा नेतृत्व गर्ने बाइडेनको भनाई छ ।

फोटो: रासस/सिन्हवा

संयुक्त राष्ट्रसंघको ७६ औं महासभाका क्रममा आज विश्वका नेताहरु न्युयोर्क सिटीमा जम्मा भएका हुन् । सदस्य राष्ट्रहरुले कोरोना महामारीको अन्त्य र महामारीपछि विश्वको अर्थतन्त्र पुन परिभाषित गर्ने दुईवटा समानान्तर चुनौतिहरुमाथि विचार विमर्श गर्ने अपेक्षा गरिएको छ ।

बाइडेनले आफ्नो सम्बोधनमा विश्वको लागि निर्णायक दशकमार्फत सहयोगीहरुसँग समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । विश्वव्यापी चुनौतिको सामना गर्न अभूतपूर्व ढंगले एकसाथ मिलेर काम गर्नुपर्ने बाइडेनले बताएका छन् ।

झण्डै आधा घण्टा लामो सम्बोधनका क्रममा बाइडेनले विश्व समुदायलाई राम्रो भविश्यका लागि लामबद्ध हुन आव्हान गरेका छन् । शान्तिपूर्ण प्रदर्शनकर्ता, मानवअधिकारकर्मी, पत्रकार, स्वतन्त्रताका लागि लडिरहेका महिलाहरुमा प्रजातन्त्र जीवित रहने बाइडेनले बताए ।

‘२० बर्षमा पहिलोपटक अमेरिका युद्धमा नभएको अवस्थामा म यहाँ उभिएको छु । हामीले पृष्ठ पल्टाएका छौं । अमेरिकाले पछाडि के थियो भन्नेमा नभई अगाडि के हुनेछ भन्नेमा आफ्नो सबै बेजोड तागत, उर्जा, प्रतिबद्धता, इच्छा र श्रोतहरुलाई केन्द्रीत गर्नेछ ।’ –  बाइडेनले भने ।

बाइडेनले विकाशोन्मुख राष्ट्रहरुमा जलवायु सम्बन्धि कामका लागि १ सय बिलियन डलर सहयोग परिचालन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । त्यस्तै विश्वमा भोकबिरुद्ध लड्नका लागि १० बिलियन डलरको प्रतिबद्धता पनि बाइडेनले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com