कर्मचारीले भ्याक्सिन लगाउन नमानेपछि न्युयोर्कको एक अस्पतालमा प्रसूती सेवा स्थगित


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

कर्मचारीहरुले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुको साटो जागिरै छाडेपछि न्युयोर्कको एउटा अस्पतालमा प्रसूती सेवा स्थगित गरिएको छ । लुइस काउन्टी हेल्थ सिस्टमका ६ जना कर्मचारीहरुले राजिनामा दिएका छन् भने अन्य ७ जनाले भ्याक्सिन लगाउन अनिच्छा प्रकट गरेका छन् ।

कर्मचारीले भ्याक्सिन लगाउन नमानेपछि लुइस काउन्टी जनरल अस्पतालमा बच्चा जन्माउने सेवा स्थगित गर्नुपरेको हो । अस्पतालका सीईओ जेराल्ड केयरले सेप्टेम्बर २४ पछि प्रसूती सेवा सुरक्षित तरिकाले संचालन गर्न आफूहरु असमर्थ रहेको बताएका छन् ।

अस्पतालको यो कदम अस्थायी हुने सम्भावना रहेको छ । प्रसूती सेवा स्थगित गरिएको समयमा अस्पतालले प्रसूती सेवा दिनका लागि नर्सहरुलाई काममा भर्ना गर्ने जनाएको छ । भ्याक्सिन अनिवार्य गराएपछि चुनौति थपिएको अस्पतालको भनाई छ ।

न्युयोर्कका पूर्व गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कमा सबै स्वास्थ्यकर्मीहरुका लागि भ्याक्सिन अनिवार्यको नियम लागु गरेका थिए । जस अनुशार उनीहरुले सेप्टेम्बर २७ भित्र भ्याक्सिनको पहिलो डोज लगाइसक्नुपर्नेछ । सुरुको मापदण्डमा धार्मिक छुट प्रदान गरिएपनि अगस्त २७ मा न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ हेल्थले जारी गरेको प्रावधानमा धार्मिक छुट समेत दिइएको छैन ।

लुइस काउन्टी अस्पतालमा २७ प्रतिशत कर्मचारीहरुले भ्याक्सिन नलगाएको जनाइएको छ । २५ हजार ९ सय १६ जनसंख्या रहेको लुइस काउन्टीमा अहिलेसम्म २६ सय २६ जना संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ । यो काउन्टीमा जम्मा ४६ प्रतिशतले कम्तीमा एक डोज भ्याक्सिन लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com