अफगानिस्तानमा महिला विद्यार्थीका लागि तालिवान नियम: पुरुषसँग पढ्न नपाउने, पोशाक नयाँ


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

अफगानिस्तानमा तालिवानले महिला विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेको छ । तालिवानका अनुशार महिला विद्यार्थीहरुले पढ्न त पाउनेछन् तर उनीहरुले पुरुष विद्यार्थीहरुसँगै एउटै कक्षामा बसेर भने पढ्न पाउनेछैनन् ।

त्यस्तै महिला विद्यार्थीहरुका लागि पढाउनका लागि महिला शिक्षिका नै हुनुपर्नेछ । महिला विद्यार्थीहरुका लागि ड्रेसकोड पनि नयाँ जारी गरिने तालिवानले जनाएको छ । उच्च शिक्षा मन्त्री अब्दुल बाकी हकानीले विद्यार्थीलाई पढाइने विषयको समेत पुनरावलोनक गरिने बताएका छन् ।

सन् १९९६ देखि सन् २००१ सम्मको तालिवान शाषनका क्रममा महिला विद्यार्थीहरुलाई विद्यालय र युनिभर्सिटीहरुमा प्रतिबन्ध लगाइएको थियो । यसपटक भने तालिवानले महिलाहरुलाई जागिर गर्न र शिक्षा लिनबाट वञ्चित नगरिने बताएका छन् । तर १५ अगस्तमा अफगानिस्तान कब्जा गरेयता तालिवानहरुले स्वास्थ्य क्षेत्रमा काम गर्ने बाहेक सबै महिलाहरुलाई सुरक्षा अवस्थामा सुधार नभएसम्म काममा नजान भनेका छन् ।

पश्चिम अफगानिस्तानको हेराट युनिभर्सिटी

राष्ट्रपतीय दरबारमा तालिवानले झण्डा फहराएको एकदिनपछि शिक्षाबारेको नीति आएको हो । तालिवान आउनुभन्दा अगाडि अफगानिस्तानमा महिला विद्यार्थीहरुका लागि ड्रेस कोडको पालना गर्नुपर्ने अवस्था थिएन भने पुरुष र महिला एकअर्को साइडमा बसेर एउटा कक्षामा पढ्न पाउँथे । तर मन्त्री हकानीले मिश्रित शिक्षा प्रणाली अन्त्य गर्न कुनै समस्या नभएको बताएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

युनिभर्सिटीहरुसँग महिलाका लागिमात्र कक्षा संचालनका लागि छुट्टै साधन श्रोत नभएकाले नयाँ नियमले महिलालाई शिक्षा हासिल गर्न वञ्चित गर्नसक्ने सम्भावना रहेको छ । तर हकानीले प्रसस्त महिला शिक्षिकाहरु रहेको र कुनै ठाउँमा महिला शिक्षिका नभएको अवस्थामा विकल्प खोजिने बताएका छन् । महिला शिक्षिका नभएको अवस्थामा बीचमा पर्दा राखेर वा प्रविधिको प्रयोग गरेर पुरुष शिक्षकले पढाउन सक्ने मन्त्री हकानीको भनाई छ ।

सन् २००२ मा अफगानिस्तानमा महिला विद्यार्थीहरु ।

महिला र पुरुष विद्यार्थीहरुलाई विद्यालय स्तरमा पनि छुट्टा छुट्टै पढाइनेछ, जुन अफगानिस्तानमा पहिले देखि नै सामान्य मानिन्छ । महिलाहरुले हिजाब लगाउनुपर्नेछ तर मुहार ढाक्ने अतिरिक्त पोशाक लगाउनुपर्ने वा नपर्नेबारे तालिवान मन्त्री हकानीले केही बताएका छैनन् ।

अहिलेको पाठ्यक्रम पुनरावलोकन गरेर इस्लामिक, राष्ट्रिय र ऐतिहासिक मुल्यमान्यता अनुरुप तार्किक र इस्लामिक पाठ्यक्रम बनाइने हकानीको भनाई छ । तालिवानको नियन्त्रणसँगै अफगानिस्तानमा महिला अधिकारका सन्दर्भमा व्यापक चिन्ता व्यक्त गरिएको छ ।

काबुलको अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तान

सन् २००१ मा तालिवान शक्तिबाट हटेपछि अफगानिस्तानको शिक्षा प्रणालीमा र महिला साक्षरतामा व्यापक सुधार भएको छ । १७ बर्षमा प्राथमिक स्तरमा छात्राहरुको संख्या झण्डै शुन्यबाट २५ लाख पुगेको युनेस्कोको तथ्यांक रहेको छ ।

शरिया कानून लागु गर्ने प्रतिबद्धता

अफगानिस्तानमा तालिवानले उनीहरुबाट स्थापित नियम अनुशार शरिया कानूनका रुपमा चिनिने इस्लामिक कानून लागु गर्ने प्रतिबद्धता जनाएको छ । तर अहिलेसम्म त्यो कसरी लागु हुनेछ भन्ने स्पष्ट भने छैन ।

विगतमा तालिवानहरुले अफगानिस्तानमा शासन गर्दा शरिया कानून लगाएका थिए, जुन अत्यन्तै कडा खालको रहेको थियो । महिलाहरुलाई घरबाहिर काम गर्न रोक लगाउने, पुरुष अभिभावक विना घर छाड्न प्रतिबन्ध लगाउने, केटीहरुका लागि विद्यालय जान रोक लगाउने र नैतिक नियम उल्लंघन गर्नेहरुलाई सार्वजनिक रुपमा दण्ड सजाय दिने जस्ता नियमहरु लागु गरेका थिए ।

सन् १९२७ मा अफगान महिला ।

शरिया कानून इस्लामिक धर्मग्रन्थ कुरानमा आधारित रहेको छ । जसमा इस्लामका लागि कानूनी र नैतिक शिक्षाका बारेमा उल्लेख छ । कुरानले नैतिक जीवनको बारेमा बताएपनि कानूनका बारेमा भने विस्तारमा उल्लेख गरेको छैन । त्यसलाई धर्मगुरुहरुले फरक फरक तरिकाले व्याख्या गर्ने गरेका छन् । तालिवानले लगाएका प्रतिबन्धहरु शरिया कानूनले तय गरेको भन्दा कडा र विपरित रहेको कतिपय आलोचकहरुको भनाई छ ।

शरियाको व्याख्या मुस्लिम जगतमा पनि बहसको विषय रहेको छ । हरेक सरकारहरुले शरियामा आधारित कानूनी प्रणाली फरक फरक तरिकाले लागु गरेका छन् । तालिवानहरुले शरिया कानूनलाई संस्थागत बनाउने बताउँदै आएका छन् । जसको मतलव उनीहरुले इस्लामिक विद्धानहरुले वा अन्य इस्लामिक सरकारहरु सहमत हुनेगरी नै लागु गर्ने सम्भावना नरहेको बताइन्छ ।

सन् २०१८ मा काबुलको साइकल र्यालीमा अफगान महिला ।

शरियाले चोरी, व्यभिचार लगायतका केही अपराधहरुलाई सुचिकृत गरेको छ । यदि प्रमाण पुगेको खण्डमा दण्डसजाय गर्ने उल्लेख गरेको छ । धार्मिक र नैतिक शिक्षाका बारेमा पनि शरियामा उल्लेख छ । कसरी प्राथना गर्ने, कसरी विवाह गर्ने र कसरी डिभोर्स गर्ने लगायतका विषय पनि यसमा उल्लेख छन् । शरियाले पुरुषविना महिलालाई घर छाड्न निषेध गर्दैन भने अधिकांश काम गर्नबाट पनि रोक लगाउँदैन ।

सन् १९५० मा बसमा छिर्दै अफगान महिला ।

जब सन् १९९६ देखि सन् २००१ सम्म तालिवानहरुले अफगानिस्तानमा नियन्त्रण कायम गरेका थिए, उनीहरुले शरिया कानूनको व्याख्या र लागु फरक तरिकाले गरे । उनीहरुले टेलिभिजनमा प्रतिबन्ध लगाए भने अधिकांश संगीतमा साधनमा पनि रोक लगाए । उनीहरुले सदाचारको प्रवद्र्धन र खराब तत्वको रोकका लागि भन्दै साउदी मोडलमा आधारित विभाग बनाएका थिए ।

नैतिक प्रहरी अधिकारीहरु बनाएर आनिवानी, कपडा र चालचलनमा कडाई गरियो । गस्तीमा निस्कने त्यस्ता प्रहरीहरुले नियम नमान्ने महिलाहरुलाई सार्वजनिक रुपमा नै अपमानित गर्ने र कारवाही गर्ने गर्थे । सन् १९९६ मा काबुलमा नेलपोलिस लगाउने एकजना महिलाको औंला नै काटिएको थियो । व्यभिचार आरोप लागेका महिलाहरुलाई ढुंगाले हानेर मारिएको थियो ।

आफ्नो शासनकालमा सन् २००१ मा महिलालाई सार्वजनिक रुपमा कुटपिट गर्दै तालिवान धार्मिक प्रहरी ।

यसपटक शरिया कानून कसरी लागु होला भन्ने सन्दर्भमा विज्ञहरुले तालिवान नेताहरुका पछिल्ला गतिविधिलाई नियालिरहेका छन् । तालिवानका प्रवक्ताले महिलालाई काम र अध्ययनका लागि अनुमति दिइने बताएका छन् ।  जसबाट तालिवानले महिलाका सन्दर्भमा विगतको जस्तो कानून लागु नगर्ने संकेत देखिएको छ ।

सन् २०१३ मा काबुलमा अफगान महिला ।

बच्चा पोश प्रथा जोखिममा

अफगानिस्तानमा एउटा परम्परा रहेको छ, जहाँ केटीहरुलाई केटाको कपडा लगाएर केटाकै जस्तो रुपमा तयार पारिन्छ । यो प्रथालाई बच्चा पोश प्रथा भनिन्छ, जसको शाब्दिक अर्थ केटाको रुपमा तयार पार्नु हो । तालिवान शासनमा यो प्रथा जोखिममा रहेको छ ।

सन् १९८० को दशकमा शोभियत संघ र अफगानिस्तानबीचको युद्धपछि पछिल्लोपटक तालिवानले अफगानिस्तानमा शासन गरेका थिए । त्यो बेला महिला र केटीहरुको जीवन उनीहरुले नारकीय बनाएका थिए । तालिवानहरुले महिलाहरुलाई काम गर्नबाट रोकेका थिए भने ८ बर्षको उमेरपछि स्कुल जानमा समेत प्रतिबन्ध लगाएका थिए । त्यस्तै परिवारको पुरुष सदस्य विना र बुर्का विना सार्वजनिक स्थलमा जान समेत रोक लगाइएको थियो ।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा हस्तक्षेप गरेपछि केही कुराहरुमा सुधार भएको थियो । मातृमृत्युदर घटेको थियो भने महिलाहरु डाक्टर, राजनीतिज्ञ र पत्रकारका रुपमा समेत उदाएका थिए । विश्व बैंकको तथ्यांक अनुशार सन् २००० मा प्राय सबै केटीहरु प्राथमिक शिक्षाबाट वञ्चित थिए भने सन् २०१२ मा ८५ प्रतिशतभन्दा धेरै स्कुल गएका थिए ।

अफगानिस्तानमा महिलाको अवस्था तालिवान शासनमा खराब हुने अनुमानहरु भइरहेका बेला बच्चा पोश प्रथाबारे चिन्ता व्यक्त गरिएको छ । यो प्रथा अन्तरगत केटीहरु रजस्वला हुनुभन्दा अगाडिसम्म केटाको जस्तो पोशाक लगाएर केटाकै जस्तो तरिकाले बस्ने गर्छन् । परिवारले छोरीलाई छोराजस्तो तरिकाले हुर्काउन चाहेको खण्डमा यो परम्पराको अबलम्बन गर्दै आएका छन् । यो प्रथा कम्तीमा एकसयबर्ष पुरानो रहेको बताइन्छ ।

केटाको जस्तो पोशाक लगाएर केटाकै शैलीमा बस्ने केटीहरुलाई केटाहरुकै सरह शिक्षा र खेलकुदमा अधिकार प्रदान गरिन्छ । घरबाहिर एक्लै हिडडुल गर्नका लागि पनि केटा सरह नै अनुमति दिइन्छ । साथै उनीहरुले बाहिर काम गर्ने लगायत केटाहरुकै सरक कर्तब्य पूरा गर्छन् ।

यो पुस्तकमा बच्चा पोश प्रथाबारे चित्रित गरिएको छ ।

कतिपय परिवारमा छोरा नभएको खण्डमा छोरीलाई बच्चा पोशका रुपमा हुर्काउने गरिन्छ । परिवारको संरक्षण र पैसा कमाउनका लागि समेत यसो गरिन्छ । कतिपय परिवारमा छोरीलाई बच्चा पोशका रुपमा हुर्काएको खण्डमा भविश्यमा छोरा जन्मिने समेत विश्वास रहदै आएको छ । बच्चा पोशले आफ्ना आमाहरुलाई बाहिर जाँदा साथ दिने वा घरको काममा यताउता दौडधुप गर्ने समेत गर्न पाउँछन् ।

कतिपय गरिव परिवारमा छोरा नभएको खण्डमा छोरीलाई बच्चा पोश बनाएर श्रममा लगाउने समेत गरिन्छ । त्यस्तै परिवारको व्यापारमा लगाउने वा परिवारको पसलमा काममा लगाउने समेत गरिन्छ । यदि घरमा बाबुले काम गर्न सक्दैनन् वा आमा विधवा छिन् भने पनि छोरीलाई बच्चापोश बनाएर बाहिरको काममा लगाउने गरिन्छ ।

कुनै कुनै परिवारले छोरीलाई शिक्षा दिलाउनका लागि पनि बच्चा पोश बनाउने गर्छन् । कुनै परिवारमा दुई छोरा र एक छोरी छन् भने छोरीलाई पनि छोराकै जस्तो कपडा लगाएर स्कुल पठाइदिने समेत गरिन्छ । तालिवान शक्तिमा आउनुभन्दा दशकौं पुरानो यो प्रथालाई तालिवानले कसरी लिनेछन् ? त्यो भने हेर्न बाँकी रहेको छ । तालिवानले यसलाई स्वीकार नगर्ने सम्भावना रहेको महिला अधिकारकर्मीहरुको भनाई रहेको छ ।

बच्चा पोशको परम्परा हबीबुल्लाह खानको शासनकालको बेलामा सन् १९०० मा पनि चलेको देखिन्छ । त्यतीबेला महिलाहरुलाई पुरुषको कपडा लगाइदिएर राजाको पवित्र स्थान हरमको रक्षा गर्न लगाएको देखिन्छ । त्यस्तै युद्धका बेलामा महिलाहरु पुरुषको रुपमा लड्न वा पुरुषको कपडा लगाएर संरक्षण प्रदान गर्नका लागि पनि यो प्रचलन अस्तीत्वमा रहेको मानिन्छ ।

अहिलेको अफगानिस्तानमा पनि बच्चा पोश परम्परालाई सामाजिक हिसावले ब्यापक रुपमा नै स्वीकार गरेको पाइन्छ । किनभने यसलाई पुरुष नभएको घरमा व्यहारिक विकल्पको रुपमा अपनाउने गरिन्छ । तर समाजमा केटाको कपडा लगाउने बच्चा पोश वास्तवीक रुपमा केटी भएको भएको थाहा पाएको खण्डमा उसलाई जिस्काउने वा दुख दिने समेत गरिएको पाइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com