बाइडेनबाट कर्मचारी र कामदारलाई भ्याक्सिन अनिवार्य गराउने नियम घोषणा, १० करोड प्रभावित


प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूला कम्पनीमा काम गर्ने कामदारहरुका लागि कोरोनाबिरुद्धको भ्याक्सिन वा साप्ताहिक परीक्षण अनिवार्य गराउने मापदण्डको घोषणा गरेका छन् । एकसयभन्दा बढी कर्मचारीहरु हुने कम्पनीका हकमा यो नयाँ नियम लागु हुनेछ ।

नयाँ मापदण्डले १० करोड कामदारहरुलाई समेट्ने भएको छ । एकसयभन्दा धेरै कर्मचारी हुने कार्यालयमा काम गर्नेहरु अमेरिकामा झण्डै साढे ७ करोड रहेका छन् ।

यो स्वतन्त्रता वा व्यक्तिगत छनौटको विषय नभएको तथा आफू र आफ्नो आसपासमा हुनेहरुको संरक्षणको विषय रहेको बाइडेनले बताएका छन् । गतबर्षदेखि अमेरिकामा कोरोनाबाट साढे ६ लाखभन्दा धेरैको ज्यान गइसकेको छ भने झण्डै ८ करोडले अझै भ्याक्सिन लगाएका छैनन् ।

बाइडेनले अमेरिकाको डिपार्टमेन्ट अफ लेवरलाई निर्देशन दिदै एकसय भन्दा धेरै कामदार हुने निजी व्यवसायसँग कामदारहरुले भ्याक्सिन लगाएको वा साप्ताहिक रुपमा परीक्षण गरेको प्रमाण माग्न भनेका छन् ।

बाइडेनले लाखौं संघीय कर्मचारीलाई भ्याक्सिन अनिवार्य गराउने कार्यकारी आदेशमा समेत हस्ताक्षर गरेका छन् । उनीहरुका लागि भने साप्ताहिक परीक्षणको विकल्प समेत दिइएको छैन । संघीय सरकारसँग काम गर्ने ठेकेदारहरुका कर्मचारीहरुलाई पनि सोही नियम लागु हुनेछ ।

संघीय सुविधा प्राप्त गरिरहेका झण्डै १ करोड ७० लाख स्वास्थ्यकर्मीहरुका सन्दर्भमा पनि सोही नियम लागु हुनेछ ।

बाइडेनको यो योजनाको केही रिपब्लिकनहरुले भने विरोध गरेका छन् । जनताको स्वास्थ्यबारेको निर्णयमा सरकारले भूमिका खेल्न नहुने भन्दै उनीहरुले विरोध गरेका छन् । भ्याक्सिन अनिवार्य गराउने बाइडेनको योजनाबिरुद्ध अदालतमा मुद्दा दायर गर्ने रिपब्लिकन नेशनल कमिटीले चेतावनी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com