अमेरिकामा महामारीका कारण प्रदान एसबीए ऋणका प्रावधानमा ठूलो परिवर्तन


प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार

अमेरिकामा महामारीका कारण प्रदान एसबीए ऋणका प्रावधानमा ठूलो परिवर्तन गरिएको छ । उक्त परिवर्तनमा ऋण प्राप्त गर्नका लागि योग्यताहरु विस्तार गरिएको छ भने प्राप्त ऋणलाई व्यवसायहरुले कसरी खर्च गर्न सक्नेछन् भन्ने प्रावधानहरुलाई पनि थपिएको छ ।

नयाँ नियम सेप्टेम्बर ८ देखि नै लागु हुनेछ भने डिसेम्बर ३१ सम्म लागु हुनेछ । त्यस्तै विगतमा आवेदन दिएका तर सेप्टेम्बर ८ वा त्यसपछि स्वीकृत हुनेहरुका सन्दर्भमा पनि नयाँ नियम लागु हुनेछ ।

नयाँ परिवर्तनले अझ धेरै व्यवसायहरुलाई एसबीएले प्रदान गर्ने इकोनोमिक इन्जुरी डिजास्टर लोनका लागि योग्य बनाउने अपेक्षा गरिएको छ । साथै विगतमा अयोग्य भएका व्यवसायहरुले पनि ऋण प्राप्त गर्नसक्ने अपेक्षा गरिएको छ ।

आजदेखि लागु उक्त नयाँ नियममा महामारीबाट सबैभन्दा धेरै प्रभाव परेका रेष्टुरेण्ट, जिम, होटल, ट्राभल एण्ड टुरिजम लगायतका व्यवसायहरुको ऋणमा पहुच धेरै हुने व्यवस्था समेत गरिएको छ । यो परिवर्तनपछि एसबीएले ऋणको आवेदनमा र आकारमा बृद्धि हुने अपेक्षा समेत गरेको छ ।

विगतमा ऋण अस्वीकृत भएकाले अपिल गर्नसक्ने प्रावधानलाई पनि अझ व्यवस्थीत बनाइएको छ । अपिलबारे महामारी सहायता प्रकृया एवं वितरण केन्द्रका निर्देशकले निर्णय गर्नसक्ने विगतको प्रावधानलाई खुकुलो बनाउदै निर्देशक वा निर्देशकले तोकिएका व्यक्तिले पनि अन्तिम निर्णय गर्नसक्ने अधिकार दिइएको छ ।

यदि एसबीएले दोश्रोपटक पनि आवेदन अस्वीकृत गरेको खण्डमा त्यसबारे अन्तिम निर्णय महामारी सहायता प्रकृया एवं वितरण केन्द्रका निर्देशक वा उनले तोकेका व्यक्तिले गर्नसक्नेछन् । उनीहरुले आफ्नो तजविज अधिकार प्रयोग गरेर समेत त्यस्ता आवेदन स्वीकृत गर्नसक्ने प्रावधान थपिएको छ ।

त्यस्तै एसबीएबाट प्राप्त गरेको ऋण व्यवसायको ऋण तिर्न प्रयोग गर्नसकिनेछ । एसबीए लगायतका संघीय एजेन्सीबाट लिएको ऋण तिर्नसमेत उक्त रकम उपयोग गर्न सकिनेछ । मासिक रकम तिर्न, ब्याज तिर्न पनि प्रयोग गर्न सकिनेछ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com