अफगानिस्तानमा रहेका अमेरिकन र ग्रिनकार्डवाहकहरुको निजी उद्दार उडानमा विदेश मन्त्रालयको अवरोध


प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार

अफगानिस्तानमा रहेका अमेरिकन नागरिक र ग्रिनकार्डवाहकहरुको उद्दारका लागि निजी स्तरबाट प्रयास गरिएका उद्दार उडानहरुमा अमेरिकी विदेश मन्त्रालयले अवरोध उत्पन्न गरेको निजी उद्दार उडानका आयोजकहरुले आरोप लगाएका छन् । अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तान छाड्ने निजी उद्दार उडानमा रोक लगाएको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उद्दार उडानलाई अनुमति दिनमा गरेको ढिलाईका कारण अफागानिस्तानमा रहेका अमेरिकी नागरिक र ग्रिनकार्डवाहकको जीवन जोखिममा परेको निजी उद्दार उडानमा सहभागीहरुले बताएका छन् । अफगानिस्तानबाट उद्दार उडानका लागि सबै प्रकृया पूरा भएको र विदेश मन्त्रालय बाहेक अन्य कतैबाट पनि अवरोध उत्पन्न नभएको निजी उद्दार समुह संचालक रिक क्लेले बताएका छन् ।

उद्दार उडानमा सहभागी अन्य दुईजना अमेरिकनहरुले पनि विदेश मन्त्रालयकै कारण अवरोध उत्पन्न भएको आरोप लगाएका छन् । यदि अमेरिकी विदेश मन्त्रालयको ढिलाई कारण कसैको ज्यान गएमा त्यो रगत ह्वाइट हाउसको हातमा लाग्ने भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

अमेरिकामा अफगानिस्तानबाट निजी उद्दार उडानका लागि अवतरणको अनुमति प्राप्त गर्न सबैभन्दा पहिले अमेरिकी विदेश मन्त्रालयबाट स्वीकृति लिन जरुरी रहेको छ । अफगानिस्तानमा झण्डै ४५ सय जना अमेरिकी नागरिक र ग्रिनकार्डवाहकहरु उद्दारको पर्खाइमा रहेको जनाइएको छ । सुरुको चरणका लागि अमेरिकी विदेश मन्त्रालय समक्ष ८ सय जनाको नाम दिइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानबाट आउने निजी उद्दार उडानहरुलाई नजिकको कुनै देशमा रोक्न अनुमति दिएको छैन । एयर ट्राफिक कन्ट्रोलरको अभाव र राडार इस्यु देखाउदै अनुमति नदिइएको हो । तर अफगानिस्तानबाट आउने निजी उद्दार उडानहरु सुरुमा दोहामा अवतरण गर्न खोजिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com