लेबर डे: अमेरिका निर्माणमा योगदान दिने श्रमिकप्रतिको सम्मान
प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार
सेप्टेम्बर महिनाको पहिलो सोमबारलाई अमेरिकामा लेबर डेका रुपमा मनाइन्छ । अमेरिकाको श्रम आन्दोलनप्रतिको सम्मानका साथमा अमेरिकाको विकाश र उपलब्धीमा श्रमिकको काम र योगदानको कदर गर्दै अमेरिकामा लेबर डे मनाइन्छ ।
यो विदाको इतिहास १९ औं शताब्दीको अन्त्यमा जोडिएको छ, जतिबेला श्रम अधिकारवादीहरुले कामदारले अमेरिकाको सवलता, विकाश र सुदृढिकरणमा दिएको योगदानको सम्मानमा यसलाई संघीय विदाका रुपमा मनाउन दवाव दिदै आएका थिए ।
संघीय विदाका रुपमा स्वीकार गरिनु अगाडि लेबर डेलाई श्रम अधिकारकर्मीहरु र राज्यहरुले मान्यता दिएका थिए । यसबारेको पहिलो बिल सार्वजनिक गर्ने राज्य न्युयोर्क थियो तर ओरेगन यो बिल पारित गर्ने पहिलो राज्य बन्यो । सन् १८८७ को फरबरी २१ मा ओरेगनले लेबर डेलाई मान्यता दिने बिल पारित गरेको थियो ।

१८८७ सम्म कोलोराडो, मासाचुसेट्स, न्युजर्सी र न्युयोर्कले पनि लेबर डे लाई विदाका रुपमा मान्यता दिएका थिए । सन् १८९४ सम्म आइपुग्दा लेबर डे लाई मान्यता दिने राज्यहरुको संख्या २३ पुगेको थियो । सन् १९९४ को जुन २८ मा अमेरिकी संसदले नै लेबर डे लाई हरेक बर्षको सेप्टेम्बरको पहिलो सोमबार मनाउने गरी संघीय विदाका रुपमा मान्यता दिएको थियो ।
पहिलो पटक लेबर डे सन् सन् १८८२ को सेप्टेम्बर ५ मा मनाइएको थियो । त्यसपछि सन् १८८३ को सेप्टेम्बर ५ मा केन्द्रीय लेबर युनियनले दोश्रो लेबर डे को आयोजना गरेको थियो । सन् १८९४ मा संसदबाट बिल पारित भएपछि अमेरिकामा लेबर डे ब्यापक रुपमा मनाउन थालिएको हो । अमेरिकनहरुले लेबर डे उत्सव, परेड र पिकनिकका साथ मनाउने गर्छन् ।

लामो विदा हुने भएकाले लेबर डेलाई पारिवारिक घुमफिरका लागि पनि उपयोग गरिन्छ । अमेरिका श्रमको सम्मान हुने मुलुकका रुपमा परिचित भएकाले लेबर डेलाई विशेष रुपमा हेरिन्छ ।






