भेटिएनन् न्युजर्सीमा बाढीमा बेपत्ता १८ बर्षकी निधी राणा र २१ बर्षका आयुस राणा


प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार

बाढी र बर्षाका कारण न्युजर्सीको पसिक निवासी बेपत्ता १८ बर्षकी निधी राणा र २१ बर्षका आयुस राणा अझै फेला परेका छैनन् । आयुसको गाडी बाढीको चपेटामा परेको र अन्तिम पटक उनीहरु बुधबार बेलुका देखिएको जनाइएको छ ।

उद्दार टोलीले नदिमा मिसिने कलभर्टहरुमा खोजी कार्य जारी राखेको छ । उनीहरुलाई बाढीले बगाएर लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तर दुईदिनसम्म खोजी कार्य जारी राख्दा पनि उनीहरु नभेटिएपछि परिवारको पीडा अझ बढेको छ ।

परिवारका सदस्यहरु अझै पनि चमत्कारका कारण उनीहरु जीवितै फर्कने अपेक्षामा रहेका छन् । शनिबार पनि ड्रोन, डुंगा र हेलिकोप्टरको प्रयोगबाट उनीहरुको खोजी कार्य सुरु गरिएको छ । निधी र आयुस आफन्त नभएपनि एकदमै मिल्ने साथी रहेको जनाइएको छ ।

 

उनीहरु दुबैजना पसिक हाइस्कुलमा टेनिस खेल्ने गर्थे । निधी बेगन कलेज र पसिक एकेडेमी फर साइन्स एण्ड इन्जिनियरिङमा उत्कृष्ट छात्रा थिइन् । उनी दर्शना राणा र प्रकाश राणाकी छोरी हुन् ।

बुधबार बेलुका ८ बजेतिर आयुसले निधीलाई पिकअप गरेका थिए । त्यसपछि आँधी र वर्षा बढ्दै गएको थियो । मध्यरातसम्म उनीहरु नफर्केपछि उनीहरुको खोजी सुरु गरिएको थियो । त्यसपछि उनीहरु चढेको कार कलभर्टमा भेटिएको थियो । तर कारभित्र उनीहरु थिएनन् ।

निधी र आयुसको परिवार भारतको एउटै गाउँबाट अमेरिका बसाई सराई गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com