आइतबारदेखि संघीय बेरोजगारी सहायता समाप्त हुँदै, त्यो अगाडि रकम नपाएकाको पुनरावलोकन


प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार

अमेरिकामा आगामी आइतबारदेखि अर्थात् सेप्टेम्बर ५ देखि संघीय बेरोजगारी सहायता कार्यक्रमहरु समाप्त हुने भएका छन् । कोरोनाको महामारी कारण काम गुमाएकाहरुका लागि अमेरिकी सरकारले सेप्टेम्बर ५ सम्मका लागि विभिन्न बेरोजगारी सहायता कार्यक्रमहरु थप गरेको थियो ।

सेप्टेम्बर ५ पछि महामारी बेरोजगारी सहायता पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी, थप गरिएको सुविधा ईबी, संघीय सरकारबाट अतिरिक्त साप्ताहिक रुपमा प्रदान गरिएको ३ सय डलर, मिश्रित आम्दानी गर्नेहरुका लागि संघीय सरकारबाट थप गरिएको साप्ताहिक एकसय डलरको सुविधा समाप्त हुने भएको छ । नियमित बेरोजगारी विमाको समयअवधि बाँकी रहेकाहरुका सन्दर्भमा भने उक्त रकम राज्यहरुले प्रदान गर्नेछन् । तर संघीय सरकारबाट प्राप्त हुने थप रकम प्राप्त हुनेछैन ।

सेप्टेम्बर ५ पछि पनि न्युयोर्कमा नियमित बेरोजगारी विमा रकम प्राप्त गर्नका लागि आवेदक बेरोजगार हुनुपर्छ भने बेरोजगारी विमा रकम लिन थालेको सुरुको २६ हप्ता अर्थात् १०४ दिन समाप्त भएको हुनुहुँदैन । आवेदकले बेरोजगारी रकम पाउन बाँकी रहेको दिनहरु अनलाइन एकाउन्टमा गएर हेर्न सक्नेछन् ।

सेप्टेम्बर ५ वा त्यो भन्दा अगाडि बेरोजगार भएका साताको संघीय सुविधा प्राप्त गर्न नसकेकाहरुको आवेदन न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरले पुनरावलोकन गर्ने जनाएको छ । सेप्टेम्बर ५ मा कार्यक्रम समाप्त भएपछि त्यो अगाडि रकम नपाएका हप्ताहरुको पुनरावलोकन सुरु गरेर योग्यहरुलाई रकम प्रदान गरिने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । रकम नपाएकाहरुले पनि नियमित रुपमा साप्ताहिक प्रमाणिकरण भने गरेको हुनुपर्नेछ ।

डिपार्टमेन्ट अफ लेवरले नयाँ पीयुए दावीहरु सेप्टेम्बर ५ पछि पनि ३० दिनसम्म स्वीकार गर्ने जनाएको छ । त्यस्ता आवेदनहरु स्वीकार गर्ने, योग्यता मूल्यांकन गर्ने र योग्य रहेको विगतको मितिदेखिकै रकम प्रदान गर्ने डिपार्टमेन्ट अफ लेवरले स्पष्ट पारेको छ । त्यस्तै थपिएको सुविधा ईबी कार्यक्रमका सन्दर्भमा भने विगतमा १३ हप्ताभन्दा बढीको यो सुविधा लिएकाहरु अगस्त ९, २०२१ देखि यो कार्यक्रमका लागि योग्य हुनेछैनन् । तर उनीहरु सेप्टेम्बर ५ सम्म पीईयुसी वा पीयुएका लागि भने योग्य हुनसक्नेछन् ।

अगस्त ९ देखि ईबी कार्यक्रम १३ साताभन्दा धेरै लिन नसकिने नियम बनाइएको थियो । जसको अर्थ अगस्त ९ सम्म १३ हप्ता नपुगेकाहरुले १३ हप्ता पुगुन्जेल यो सुविधा प्राप्त गर्नसक्ने र अगस्त ९ अगाडि नै १३ हप्ता पुगेकाले त्यसपछिका हप्तामा यो सुविधा प्राप्त गर्न नसक्ने प्रावधान रहेको थियो । उदाहरणका लागि अगस्त ९ मा १० हप्तापुगेकाले त्यसपछि पनि तीनहप्तासम्म यो सुविधा पाउनसक्ने प्रावधान रहेको थियो । तर जतिहप्ता बाँकी रहेपनि सेप्टेम्बर ५ पछिभने उनीहरुले रकम पाउँदैनन् ।

सेप्टेम्बर ५ पछि बेरोजगारी सहायता कार्यक्रमहरु थप गर्ने योजनामा राज्यहरु छैनन् । कतिपय राज्यहरुले संघीय सरकारले उपलब्ध गराउदै आएको बेरोजगारी सहायता कार्यक्रम समेत लागु गर्न यस अगाडि नै बन्द गरिसकेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com