६ साताभन्दा बढीको गर्भपतन गर्न नपाउने टेक्सासको कडा कानूनमा सर्वोच्चको समर्थन


प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार

अमेरिकाको टेक्सासमा गर्भपतनबारेको अहिलेसम्मकै सबैभन्दा कडा कानूनलाई सर्वोच्च अदालतले पनि समर्थन गरेको छ । उक्त कानून कार्यान्वयनमा रोक लगाउनका लागि सर्वोच्च समक्ष आपतकालिन अनुरोध गरिएकोमा बुधबार राती सर्वोच्चले कानून कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको हो ।

सर्वोच्चका ९ जना न्यायाधिसहरुमध्ये ५ जनाले टेक्सासको कानूनको समर्थन गरेका थिए भने ४ जना उक्त कानून कार्यान्वयनमा रोक लगाउनुपर्ने पक्षमा रहेका थिए । दुईजना रुढीबादी न्यायाधिसहरुलाई ३ जना ट्रम्प नियुक्त न्यायाधिसहरुले समर्थन गरेपछि कानून कार्यान्वयनका लागि बाटो खुलेको हो । तीनजना उदार न्यायाधिस र रुढीबादी धारका मानिने प्रधान न्यायाधिस जोन रोबर्टस भने टेक्सासको कानूनमा असहमत भएका थिए ।

सर्वोच्चको यो धारणामा हस्ताक्षर गरिएको छैन । साथै टेक्सासको गर्भपतनबारेको कानूनबिरुद्ध टेक्सासको राज्य अदालत लगायतका अन्य कानूनी निकायमा मुद्दा दायरका लागि समेत रोक लगाइनेछैन । त्यसैले बुधबारबाट कार्यान्वयनमा आएको यो विवादास्पद कानूनले थप कानूनी चुनौतिहरुको भने सामना गर्नुपर्ने हुनसक्छ ।

यो कानून अनुशार अधिकांश मामलामा ६ साताभन्दा बढीको गर्भपतन गर्न नपाइने भएको छ । गत मे महिनामा पारित भएको यो कानून सर्वोच्च अदालतको नजिरसँग बाझिएको छ । सर्वोच्चको नजिरमा भ्रुण परिपक्व हुनु अगाडि गर्भपतन गर्न पाइने र राज्यहरुले त्यसमा रोक लगाउन नहुने उल्लेख छ । सामान्यतया २२ देखि २४ हप्तामा भ्रुण परिपक्व हुने भएकाले त्यो भन्दा अगाडि गर्भपतनका लागि सर्वोच्चले रोक लगाएको छैन ।

टेक्सासको कानून कार्यान्वयनमा आएपछि यदि ६ साताभन्दा बढीको गर्भपतन गराएको खण्डमा गर्भपतन सेवा उपलब्ध गराउनेबिरुद्ध मुद्दा दायर गर्न सकिनेछ । त्यस्तै गर्भपतनको लागि क्लीनिक लैजानका लागि सवारी दिने वा गर्भपतनका लागि आर्थिक सहायता गर्नेबिरुद्धपनि मुद्दा लाग्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com