टेक्सासमा गर्भपतनबारे कडा कानून लागु, डेढमहिनाभन्दा बढीको गर्भपतन गर्न नपाइने


प्रकाशित मिति : भाद्र १६, २०७८ बुधबार

अमेरिकाको टेक्सासमा गर्भपतनबारेको अहिलेसम्मकै सबैभन्दा कडा कानून लागु भएको छ । कानूनी लडाईमा सर्वोच्च अदालत र पुनरावेदन अदालतले समेत यो कानून कार्यान्वयनमा रोक नलगाएपछि बुधबारबाट विवादास्पद कानून लागु भएको हो ।

यो कानून अनुशार अधिकांश मामलामा ६ साताभन्दा बढीको गर्भपतन गर्न नपाइने भएको छ । अधिकांशले यो अवधिमा गर्भ रहेको समेत थाहा नपाउने भएकाले यो कानून कार्यान्वयनमा रोक लगाउनका लागि सर्वोच्च समक्ष आपतकालिन अनुरोध गरिएको थियो ।

गत मे महिनामा पारित भएको यो कानून सर्वोच्च अदालतको नजिरसँग बाझिएको छ । सर्वोच्चको नजिरमा भ्रुण परिपक्व हुनु अगाडि गर्भपतन गर्न पाइने र राज्यहरुले त्यसमा रोक लगाउन नहुने उल्लेख छ । सामान्यतया २२ देखि २४ हप्तामा भ्रुण परिपक्व हुने भएकाले त्यो भन्दा अगाडि गर्भपतनका लागि सर्वोच्चले रोक लगाएको छैन ।

टेक्सासको कानून कार्यान्वयनमा आएपछि यदि ६ साताभन्दा बढीको गर्भपतन गराएको खण्डमा गर्भपतन सेवा उपलब्ध गराउनेबिरुद्ध मुद्दा दायर गर्न सकिनेछ । त्यस्तै गर्भपतनको लागि क्लीनिक लैजानका लागि सवारी दिने वा गर्भपतनका लागि आर्थिक सहायता गर्नेबिरुद्धपनि मुद्दा लाग्नेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com