अमेरिकनलाई सुरक्षा दिएर विमानस्थल गेटसम्म लैजान तालिबानको गोप्य प्रबन्ध


प्रकाशित मिति : भाद्र १५, २०७८ मंगलबार

तालिबानका सदस्यहरुले अमेरिकनहरुलाई काबुलमा रहेको विमानस्थलको गेटसम्म सुरक्षा दिएर लगेको खुलासा भएको छ । अमेरिकी सेनाले तालिवानसँग गरेको गोप्य सम्झौता अनुरुप तालिवानहरुले अमेरिकनको उद्दारका क्रममा यस्तो प्रकारको गोप्य प्रबन्ध गरेका थिए । झण्डै दुईसाता लामो उद्दार मिसनका क्रममा तालिबानहरुले यस्तो सहकार्य गरेका हुन् ।

अमेरिकाको विशेष अपरेशन फोर्सले विमानस्थलमा गोप्य गेटको समेत प्रबन्ध गरेका थिए । उद्दार प्रकृयामा अमेरिकनलाई सघाउनका लागि कलसेन्टरको समेत स्थापना गरिएको थियो । उद्दार मिसनमा तालिवानसँगको सहकार्यले एकदमै राम्रोसँग काम गरेको अमेरिकी सैन्य अधिकारीले खुलासा गरेका छन् ।

तालिवानहरुले अमेरिकनलाई गेटसम्म गोप्यरुपमा सुरक्षा दिएर ल्याउने क्रममा अमेरिकी सेनाले त्यसको निगरानी भने गरिरहेको थिए । केही समस्या भइहालेमा कदम चाल्नका लागि यस्तो निगरानी गरिएको थियो । तर तालिवानले विना कुनै समस्या अमेरिकनलाई सुरक्षा दिएर गेटसम्म ल्याउन सफल भएका थिए ।

१७० जना अफगानहरु र १३ जना अमेरिकी सेनाको ज्यान जानेगरी भएको विष्फोटमा पनि उद्दार गरिदै गरेका अमेरिकनको भने ज्यान गएन । आईसीसले उक्त घटनाको जिम्मा लिएको थियो । आईसीस पनि तालिवानको दुश्मनका रुपमा सकृय रहेको छ ।

यसैबीच अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने कदमका कारण तालिबान सत्तामा फर्कने कारक बनेको विषयलाई अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्।

अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकी सेना त्यहाँ बसिरहनुको अर्थ नभएको बताएका छन् ।

उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा समेत गरेका छन् । तालिबानले भने अमेरिकाले अफगानिस्तान छाडेको घटनालाई जितका रूपमा उत्सव मनाएको छ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि उसको नेतृत्वमा अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेना प्रवेश गरेर तालिबान सत्तालाई अन्त्य गरिदिएको थियो।

अमेरिकामा भएको आतङ्कवादी हमलाको जिम्मा लिएको अलकायदाको आधार उक्त देश रहेको भन्दै त्यसबेला अमेरिकाले हमला गरेको थियो।

गत अगस्ट १५ मा राजधानी काबुल प्रवेश गरेपछि तालिबवानको हातमा अफगानिस्तानको शक्ति पुगेको छ । तालिबानले पूरै देशलाई ११ दिनभित्र नियन्त्रणमा लिन सफल भएको थियो।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com