अमेरिकाको अन्तिम सैन्य विमानले छाड्यो अफगानिस्तान, २० बर्ष लामो युद्ध समाप्त


प्रकाशित मिति : भाद्र १५, २०७८ मंगलबार

झण्डै २० बर्ष लामो युद्ध समाप्त गर्दै अमेरिकाको अन्तिम सैन्य विमानले अफगानिस्तान छाडेको छ । अमेरिकाले सन् २००१ मा अफगानिस्तानमा सुरु गरेको युद्ध अब औपचारिक रुपमा समाप्त भएको छ ।

अमेरिकाले अफगानिस्तानबाट फिर्ती पूरा भएको औपचारिक घोषणा समेत गरेको छ । अफगानिस्तानबाट अमेरिकी नागरिकहरु, तेश्रो देशका नागरिकहरु र जोखिममा रहेका अफगानीहरुको उद्दार गर्ने सैन्य मिसनपनि समाप्त भएको छ ।

काबुलमा अगस्त १७, २०२१ मा तालिवान लडाकुहरु ।

न्युयोर्क समय अनुशार सोमबार दिउसो ३ बजेर २९ मिनेट जाँदा हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमानका रुपमा सी १७ विमान उडेको थियो । अफगानिस्तानबाट बाहिर निकाल्नुपर्ने सबैको उद्दार नहुँदै अमेरिकी सेनाले मिसन समाप्त गरेको घोषणा गरेको हो ।

अफगानिस्तान युद्धका क्रममा अमेरिकी सेना ।

विगत १७ दिनमा अमेरिकी इतिहासमा नै सबैभन्दा ठूलो हवाईउद्दार गरिएको थियो । अगस्तको दोश्रो सातायता १ लाख २० हजारभन्दा धेरैलाई उद्दार गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले वक्तब्यमार्फत जनाएका छन् । जुलाई यता हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २२ हजारभन्दा धेरैको उद्दार गरिएको छ । बाइडेनले आज अफगानिस्तानबारे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

न्युयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि अमेरिकाले अफगानिस्तानमा युद्ध सुरु गरेको हो ।

अब अफगानी भूभागमा कोही पनि अमेरिकी सेना छैनन् । झण्डै २० बर्षलामो युद्धमा २४ सय बढी अमेरिकी सेनाको मृत्यु भयो भने झण्डै २ ट्रिलियन डलर अमेरिकाले खर्च गरेको थियो । अफगानी सेना, गठबन्धन सेना, सर्वसाधारण, अलकायदाका लडाकु लगायत अफगानिस्तान युद्धमा २ लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com