फाइजर भ्याक्सिनको साइड इफेक्टबाट न्यूजिल्याण्डमा पहिलो मृत्यु, के हो मायोकार्डिटिस ?


प्रकाशित मिति : भाद्र १५, २०७८ मंगलबार

कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरको साइड इफेक्टबाट न्यूजिल्याण्डमा एकजना महिलाको मृत्यु भएको छ । भ्याक्सिनको साइड इफेक्टबाट न्यूजिल्याण्डमा यो नै पहिलो मृत्यु भएको विश्वास गरिएको छ ।

भ्याक्सिनको साइड इफेक्टबाट मुटुको मांशपेशी सुन्निएपछि ती महिलाको मृत्यु भएको विश्वास गरिएको भ्याक्सिन सुरक्षा बोर्डले जनाएको छ । मायोकार्डिटिस नामको यो साइड इफेक्टलाई अत्यन्तै दुर्लभ मानिएको छ ।

मृत्युको आधिकारिक कारण अहिलेसम्म निर्धारण गरिएको छैन । तर भ्याक्सिनको स्वतन्त्र सुरक्षा निगरानी बोर्डले भ्याक्सिनकै कारण मायोकार्डिटिस भएको हुनसक्ने विश्वास गरेको छ । मृत्यु हुने महिलाको उमेरपनि सार्वजनिक गरिएको छैन ।

मायोकार्डिटिस साइड इफेक्ट निकै दुर्लभ

युरोपियन मेडिसिन एजेन्सीले मोडेर्ना वा फाइजर भ्याक्सिनबाट यस्तो प्रकारको साइड इफेक्टलाई निकै दुर्लभ बताएको छ । कम उमेरका पुरुषमा यस्तो साइड इफेक्ट बढी हुने एजेन्सीको भनाई छ ।

मायोकार्डिटिसका लक्षणहरुमा छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने र मुटुको चाल असाधारण हुने लगायत रहेका छन् । भ्याक्सिन लगाएको केहीदिनभित्र यस्ता साइड इफेक्टहरु देखिएमा तुरुन्तै स्वास्थ्य उपचार खोज्न सुझाव दिइएको छ ।

न्यूजिल्याण्डमा अहिलेसम्म जम्मा ३४६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने २६ जनाको मृत्यु भएको छ । न्यूजिल्याण्डमा अहिलेसम्म ३० लाख भन्दा बढी डोज भ्याक्सिन वितरण गरिसकिएको छ भने २३ प्रतिशतभन्दा धेरैले भ्याक्सिन लगाइसकेका छन् ।

मायोकार्डिटिस कति जनामा ?

बेलायतमा फाइजर भ्याक्सिन लगाएका १९५ जनामा मायोकार्डिटिस देखिएको थियो । हरेक १० लाखमा ५ जनामा यस्तो साइड इफेक्ट देखिएको जनाइएको छ । अधिकांश त्यस्ता मामलाहरुमा साधारण लक्षणहरु देखिने गरेको जनाइएको छ ।

अमेरिकामा पनि मायोकार्डिटिसका २५७४ मामलाहरु रिपोर्ट गरिएको छ । अमेरिकामा ३३० मिलियनभन्दा धेरैले फाइजर र मोडेर्ना भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिन लगाएका कारण मायोकार्डिटिसका कारण अमेरिकामा भने कसैको पनि मृत्यु भएको छैन ।

युरोपियन युनियनभित्र फाइजर र मोडेर्ना भ्याक्सिन लगाइसकेपछि मायोकार्डिटिसका कारण ५ जनाको मृत्यु भइसकेको छ । यो क्षेत्रमा २ सय मिलियन भन्दा धेरै डोज एमआरएनए भ्याक्सिन वितरण गरिसकिएको छ ।

के हो मायोकार्डिटिस ?

मायोकार्डिटिस मुटुको मांशपेशीमा हुने एकप्रकारको संक्रमण हो । मांशपेशी सुन्निदा मुटुले पम्प गर्ने क्षमतामा कमी आउनसक्छ । जसका कारण मुटुको चाल बढ्ने वा मुटुको रिदम अनियमित हुने हुनसक्छ ।

थकान महसुस हुने, मुटुको चाल अनियमित हुने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्नेमात्र नभई हातखुट्टा सुन्निने, जोर्नी दुख्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षणहरु समेत देखिन सक्छन् । मुटुको काम गर्ने क्षमतामा कमी भएर शरीरका अन्य भागमा रगत संचार नहुने र मुटुमा रगतका थोपा जमेर हृदयघातसमेत हुनसक्ने हुन्छ ।

मायोकार्डिटिस सुरुको चरणमा रहेको छ भने लक्षण नै नदेखिने समेत हुनसक्छ । स्वास फेर्न गाह्रो भएमा वा छाती दुखेमा मात्र पनि मेडिकल सहायता खोजिहाल्नुपर्छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com