Follow @khasokhasmag

फाइजरलाई स्वीकृति लगत्तै एफडीएबाट पूर्ण स्वीकृतिका लागि मोडेर्नाबाट सबै कागजात पेश


प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार

कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरलाई अमेरिकाको एफडीएले पूर्ण स्वीकृति प्रदान गरे लगत्तै मोडेर्नाले पनि पूर्ण स्वीकृतिका लागि एफडीए समक्ष कागजात बुझाउने काम पूरा गरेको छ । १८ बर्षभन्दा माथिकालाई भ्याक्सिनको पूर्ण स्वीकृतिका लागि सबै कागजात पेश गरेको मोडेर्नाले बुधबार जनाएको छ ।

मोडेर्नाले एफडीएबाट प्राथमिकताका साथ पुनरावलोकनका लागि अनुरोध गरेको समेत जनाएको छ । कम्पनीले गत जुनदेखि एफडीएलाई तथ्यांकहरु बुझाउन सुरु गरेकोमा अहिले पूरा गरेको हो । गतबर्षको डिसेम्बरमा मोडेर्ना भ्याक्सिन अमेरिकामा १८ बर्षमाथिकालाई लगाउन आपतकालिन स्वीकृति प्रदान गरिएको थियो ।

मोडेर्नाले १२ बर्षभन्दा माथिकाहरुलाई भ्याक्सिन लगाउन आपतकालिन प्रयोगको स्वीकृतिका लागि समेत आवेदन दिइसकेको छ । सोमबार एफडीएले फाइजर भ्याक्सिनलाई १६ बर्ष माथिका व्यक्तिले लगाउन सक्नेगरी प्रयोगको पूर्ण स्वीकृति प्रदान गरिसकेको छ ।

भ्याक्सिनको पूर्ण स्वीकृतिलाई भ्याक्सिन लगाउने दर बृद्धि हुने कोसेढुंगाका रुपमा हेरिएको छ । छोटो समयमा भ्याक्सिनलाई पूर्ण स्वीकृति प्रदान गरिएको एफडीएको इतिहासमा नै यो पहिलोपटक हो । फाइजरले पूर्ण स्वीकृतिका लागि आवेदन दिएको ४ महिनाभन्दा पनि कम समयमा भ्याक्सिनलाई स्वीकृति प्रदान गरिएको हो ।

एफडीएले यसअगाडि सेप्टेम्बरको पहिलोसातासम्म भ्याक्सिनलाई पूर्ण स्वीकृति प्रदान गर्ने आन्तरिक डेडलाइन तय गरेको थियो । तर उक्त डेडलाइन अगाडि नै भ्याक्सिन स्वीकृत गरिएपछि अझैधेरै अमेरिकनहरुले ढुक्क भएर भ्याक्सिन लगाउने अपेक्षा गरिएको छ ।

अब केही विश्वविद्यालयहरु र अस्पतालहरुले भ्याक्सिन अनिवार्य गर्ने अपेक्षा गरिएको छ । पेन्टागनले पनि भ्याक्सिन अनिवार्य गर्ने योजना बनाएको छ । अब फाइजरले एफडीएसमक्ष भ्याक्सिनको तेश्रो डोजको स्वीकृतिका लागि आवेदन दिने अपेक्षा गरिएको छ ।

भ्याक्सिनको दोश्रो डोज लगाएको ८ महिना नाघिसकेकाहरुले बुस्टर डोजका लागि तयार रहन र सेप्टेम्बर २० देखि बुस्टर डोज लगाउन सुरु गरिने बाइडेन प्रशासनले बताइसकेको छ । फाइजरले तेश्रो डोज सुरक्षित र प्रभावकारी भएको तथ्यांक आगामी साता एफडीएमा बुझाउने अपेक्षा गरिएको छ ।

एफडीएले प्रतिरोध क्षमता कमजोर भएकाहरुलाई फाइजर र मोडेर्नाको तेश्रो डोज स्वीकृत गरिसकेको छ । यो निर्णयलाई सीडीसीले पनि स्वीकृत गरेपछि कमजोर प्रतिरोधात्मक क्षमता भएकाहरुलाई तेश्रो डोज दिन सुरु गसिकिएको छ ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com