अगस्त ३१ पछि पनि अफगानिस्तानमा अमेरिकी सेना राख्न गरिएको आग्रह बाइडेनबाट अस्वीकार


प्रकाशित मिति : भाद्र ८, २०७८ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्त ३१ पछि पनि अफगानिस्तानमा अमेरिकी सेना राख्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगीहरुबाट गरिएको आग्रह अस्वीकार गरेका छन् । अमेरिकी सेनाले अफगानिस्तान छाड्ने डेडलाइन अगस्त ३१ नै कायम रहेको बाइडेनले स्पष्ट पारेका छन् ।

अगस्त ३१ सम्म सबैलाई विमानबाट अमेरिका फर्काउने काम पूरा हुने कुरा तालिवानको समन्वयमा भरपर्ने बाइडेनले स्वीकार गरेका छन् । कुनै अवरोधविना विमानस्थलमा पहुच दिएको खण्डमा अगस्त ३१ भित्र सबै अमेरिकी शक्ति फर्काउन सकिने बाइडेनले बताएका छन् ।

प्रतिनिधिसभामा रिपब्लिकन नेता केभिन म्याकार्थीले एकसाताभित्र अफगानिस्तानबाट हरेक अमेरिकनलाई फिर्ता ल्याउन सम्भव नभएको बताएका छन् । रिपब्लिकन सिनेटर मिट रोम्नीले पनि अगस्त ३१ सम्म अफगानिस्तानबाट हरेक अमेरिकनलाई बाहिर ल्याउने काम सम्भव नहुने बताएका छन् । कैयन अमेरिकनहरु काबुल बाहिरका प्रान्तहरुमा अड्किएको र उनीहरुलाई सुरक्षित रुपमा ल्याउने कुनै योजना नबनाइएको भन्दै उनले आलोचना गरेका छन् ।

अफगानिस्तानका सडकमा गस्ती गर्दै तालिबान लडाकू

पश्चिमा शक्ति, मिसन र गैरसरकारी संस्थाहरुसँग काम गरेका अफगानीहरु पनि तालिवानले प्रतिशोध साँध्नसक्ने त्रासमा रहेका छन् । आफ्नो जीवन र परिवारलाई जोखिममा राखेर अमेरिकालाई सहयोग गरेका अफगानीहरुलाई पछाडि छाड्न नहुने र खाली गराउने कार्य पूरा भएपछिमात्र अमेरिकी सेनाले अफगानिस्तान छाड्नुपर्ने रोम्नीको भनाई छ ।

अमेरिकाले तालिवानसँग काबुल विमानस्थलसहित अगस्त ३१ भित्र अफगानिस्तान छाड्ने सहमति गरेको छ । तर बाइडेन प्रशासनले अहिलेसम्म अफगानिस्तानबाट कतिजना अमेरिकनलाई उद्दार गरियो र कतिजना अफगानिस्तानमा नै रहेका छन् भन्नेबारे केही बताउन सकेको छैन । झण्डै २० बर्ष लामो युद्धपछि अमेरिका अफगानिस्तानबाट मेभित्र फर्कने सहमति सन् २०२० मा डोनाल्ड ट्रम्पको पालामा भएको हो । पछि बाइडेनले यो डेडलाइन अगस्त ३१ मा सारेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com