अफगानिस्तानमा तालिवानले महिलाका सन्दर्भमा शरिया कानून कसरी लागु गर्लान् ?


प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार

अफगानिस्तानमा तालिवानले उनीहरुबाट स्थापित नियम अनुशार शरिया कानूनका रुपमा चिनिने इस्लामिक कानून लागु गर्ने प्रतिबद्धता जनाएको छ । तर अहिलेसम्म त्यो कसरी लागु हुनेछ भन्ने स्पष्ट भने छैन ।

विगतमा तालिवानहरुले अफगानिस्तानमा शासन गर्दा शरिया कानून लगाएका थिए, जुन अत्यन्तै कडा खालको रहेको थियो । महिलाहरुलाई घरबाहिर काम गर्न रोक लगाउने, पुरुष अभिभावक विना घर छाड्न प्रतिबन्ध लगाउने, केटीहरुका लागि विद्यालय जान रोक लगाउने र नैतिक नियम उल्लंघन गर्नेहरुलाई सार्वजनिक रुपमा दण्ड सजाय दिने जस्ता नियमहरु लागु गरेका थिए ।

अहिले भने तालिवानहरुले इस्लामिक कानून कसरी लागु गर्ने भन्नेबारे केही बताइसकेका छैनन् । तर प्राय अफगान महिलाहरुमा पहिलेकै जस्ता अवस्थामा फर्कनुपर्ने चिन्ता देखिएको छ ।

सन् १९२७ मा अफगान महिला ।

शरिया कानून इस्लामिक धर्मग्रन्थ कुरानमा आधारित रहेको छ । जसमा इस्लामका लागि कानूनी र नैतिक शिक्षाका बारेमा उल्लेख छ । कुरानले नैतिक जीवनको बारेमा बताएपनि कानूनका बारेमा भने विस्तारमा उल्लेख गरेको छैन । त्यसलाई धर्मगुरुहरुले फरक फरक तरिकाले व्याख्या गर्ने गरेका छन् । तालिवानले लगाएका प्रतिबन्धहरु शरिया कानूनले तय गरेको भन्दा कडा र विपरित रहेको कतिपय आलोचकहरुको भनाई छ ।

शरियाको व्याख्या मुस्लिम जगतमा पनि बहसको विषय रहेको छ । हरेक सरकारहरुले शरियामा आधारित कानूनी प्रणाली फरक फरक तरिकाले लागु गरेका छन् । तालिवानहरुले शरिया कानूनलाई संस्थागत बनाउने बताउँदै आएका छन् । जसको मतलव उनीहरुले इस्लामिक विद्धानहरुले वा अन्य इस्लामिक सरकारहरु सहमत हुनेगरी नै लागु गर्ने सम्भावना नरहेको बताइन्छ ।

सन् २०१८ मा काबुलको साइकल र्यालीमा अफगान महिला ।

शरियाले चोरी, व्यभिचार लगायतका केही अपराधहरुलाई सुचिकृत गरेको छ । यदि प्रमाण पुगेको खण्डमा दण्डसजाय गर्ने उल्लेख गरेको छ । धार्मिक र नैतिक शिक्षाका बारेमा पनि शरियामा उल्लेख छ । कसरी प्राथना गर्ने, कसरी विवाह गर्ने र कसरी डिभोर्स गर्ने लगायतका विषय पनि यसमा उल्लेख छन् । शरियाले पुरुषविना महिलालाई घर छाड्न निषेध गर्दैन भने अधिकांश काम गर्नबाट पनि रोक लगाउँदैन ।

सन् १९५० मा बसमा छिर्दै अफगान महिला ।

जब सन् १९९६ देखि सन् २००१ सम्म तालिवानहरुले अफगानिस्तानमा नियन्त्रण कायम गरेका थिए, उनीहरुले शरिया कानूनको व्याख्या र लागु फरक तरिकाले गरे । उनीहरुले टेलिभिजनमा प्रतिबन्ध लगाए भने अधिकांश संगीतमा साधनमा पनि रोक लगाए । उनीहरुले सदाचारको प्रवद्र्धन र खराब तत्वको रोकका लागि भन्दै साउदी मोडलमा आधारित विभाग बनाएका थिए ।

नैतिक प्रहरी अधिकारीहरु बनाएर आनिवानी, कपडा र चालचलनमा कडाई गरियो । गस्तीमा निस्कने त्यस्ता प्रहरीहरुले नियम नमान्ने महिलाहरुलाई सार्वजनिक रुपमा नै अपमानित गर्ने र कारवाही गर्ने गर्थे । सन् १९९६ मा काबुलमा नेलपोलिस लगाउने एकजना महिलाको औंला नै काटिएको थियो । व्यभिचार आरोप लागेका महिलाहरुलाई ढुंगाले हानेर मारिएको थियो ।

आफ्नो शासनकालमा सन् २००१ मा महिलालाई सार्वजनिक रुपमा कुटपिट गर्दै तालिवान धार्मिक प्रहरी ।

यसपटक शरिया कानून कसरी लागु होला भन्ने सन्दर्भमा विज्ञहरुले तालिवान नेताहरुका पछिल्ला गतिविधिलाई नियालिरहेका छन् । तालिवानका उच्च अधिकारीले यसैसाता काबुलमा महिला पत्रकारलाई अन्तरवार्ता दिएका थिए । तर त्यसको केहीघण्टापछि ती महिला पत्रकार र अन्य महिला पत्रकारहरुलाई टेलिभिजनबाट निष्काशनको घोषणा गरिएको थियो ।

तालिवानका प्रवक्ताले महिलालाई काम र अध्ययनका लागि अनुमति दिइने बताएका छन् । त्यस्तै अर्का एकजनाले महिला सरकारमा समेत सहभागी हुनुपर्ने बताएका छन् । जसबाट तालिवानले महिलाका सन्दर्भमा विगतको जस्तो कानून लागु नगर्ने संकेत देखिएको छ ।

सन् २०१३ मा काबुलमा अफगान महिला ।

यद्यपी काबुल बाहिर कैयन महिलाहरुलाई पुरुषविना घरबाहिर नजान भनिएको छ । तालिवानले कम्तीमा एउटा युनिभर्सिटीमा महिला प्रवेशमा निषेध गरेका छन् । त्यस्तै तालिवानहरुले महिलाका केही क्लीनिकहरु र विद्यालयहरु समेत बन्द गराएका छन् ।

 

न्युयोर्क टाइम्समा डानियल भिक्टरको रिपोर्टमा आधारित । कभर तस्वीरमा सन् २००६ का अफगान महिला । 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com