Follow @khasokhasmag

सेप्टेम्बर २० देखि अमेरिकामा भ्याक्सिनको बुस्टर डोज, गतबर्ष सुरुमा भ्याक्सिन लगाएकालाई प्राथमिकता


प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार

अमेरिकाका स्वास्थ्य अधिकारीहरु र विज्ञहरुले बुधबार एक वक्तब्य जारी गरी सेप्टेम्बरदेखि अमेरिकामा सबैलाई कोरोनाबिरुद्धको भ्याक्सिनको बुस्टर डोजका लागि आव्हान गरिने घोषणा गरेका छन् । अमेरिकाको एफडीए र सीडीसीले स्वीकृत गरेपछि अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको बुस्टर डोज वितरण सुरु गरिनेछ ।

सीडीसी निर्देशक डाक्टर रोशेल वालेन्स्की र एफडीए कार्यकारी कमिश्नर डाक्टर जानेट उडकुक लगायतका अमेरिकाका बरिष्ठ स्वास्थ्य अधिकारीहरुले वक्तब्य जारी गरेर सेप्टेम्बर २० देखि बुस्टर डोज सुरु गर्ने तयारी भएको घोषणा गरेका हुन् । गतबर्ष कोरोनाबिरुद्धको भ्याक्सिन वितरण सुरु गर्दा योग्य भएका समुह नै सुरुमा बुस्टर डोजका लागि योग्य हुने वक्तब्यमा उल्लेख छ ।

कोरोनाको डेल्टा भेरियन्ट फैलिने क्रम तीब्र भएपनि स्वीकृत भ्याक्सिनहरु व्यक्तिलाई सिकिस्त हुनबाट, अस्पताल भर्ना हुनबाट र ज्यान गुमाउनबाट बचाउन प्रभावकारी रहको वक्तब्यमा जनाइएको छ । सुरुमा भ्याक्सिन लगाएकाहरुमा भ्याक्सिनको प्रभावकारिता घट्दै जानसक्ने देखिएकाले बुस्टर डोज आवश्यक रहेको उल्लेख गरिएको छ ।

वक्तब्यमा सर्जन जनरल डाक्टर विवेक मुर्थी, राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्स, सरुवा रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक डाक्टर एन्थोनी फाउची, स्वास्थ्य मन्त्रालयका सहायक सेक्रेटरी डाक्टर रसेल लिभाइन लगायतले हस्ताक्षर गरेका छन् । सुरुमा फाइजर र मोडेर्नाका बुस्टर डोजहरु उपलब्ध गराइने भएको छ ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अमेरिकामा मार्चबाटमात्र सुरु गरिएकाले यो भ्याक्सिन लगाएकाहरुका लागि बुस्टर डोज अलिक पछाडि दिइने भएको छ ।

न्युयोर्क सिटीमा मोडेर्ना र फाइजर भ्याक्सिनको तेश्रो डोज

न्युयोर्क सिटीमा स्थानीय सरकारबाट संचालित भ्याक्सिन केन्द्रहरुमा कोरोनाबिरुद्धको मोडेर्ना र फाइजर भ्याक्सिनको तेश्रो डोज दिन सुरु गरिएको छ । तेश्रो डोज भ्याक्सिन अप्वाइन्टमेन्ट लिएर वा नलिइकनै वाकइनमा पनि लगाउन सकिनेछ ।

क्यान्सरको सकृय उपचार गराइरहेकाहरु, अंग प्रत्यारोपण गरेकाहरु, विगत दुईबर्षभित्र स्टीम सेल प्रत्यारोपण गरेकाहरु, ठीक्क वा गम्भिर प्रकारको इम्युनोडेफिसेन्सी भएकाहरु, एचआईभी संक्रमितहरु, प्रतिरक्षा प्रणाली कमजोर बनाउने प्रकारका उपचार गराइरहेकाहरुलाई तेश्रो डोज लगाउन सिफारिस गरिएको छ । तर उनीहरुले तेश्रो डोज लगाउनु अगाडि उपचार गराइरहेका चिकित्सकको सल्लाह लिन सुझाव दिइएको छ ।

न्युयोर्क सिटीको सुचना विस्तारमा पढ्न यहाँ क्लीक गर्नुहोला ।

१२ बर्षभन्दा माथिकाहरुमात्र मोडेर्ना वा फाइजरको तेश्रो डोज लिन योग्य रहेका छन् । जोन्सन एण्ड जोन्सनको डोज लगाएकाहरुलाई भने तेश्रो डोज लगाउन स्वीकृति प्रदान गरिएको छैन । तेश्रो डोज लगाउनजाँदा प्रतिरोध प्रणाली कमजोर भएको कुनै कागजात पेश गर्न आवश्यक छैन, स्वघोषणाका आधारमा लगाउन सकिनेछ ।

उपलब्ध भएसम्म पहिलो र दोश्रो डोज जुन ब्राण्डको भ्याक्सिन लगाएको हो, तेश्रो डोज पनि त्यही भ्याक्सिन लगाउन सुझाव दिइएको छ । तर उपलब्ध नभएको खण्डमा मोडेर्ना वा फाइजरमध्ये कुनै एउटा भ्याक्सिन लगाउन सकिनेछ । तेश्रो डोज लगाउनका लागि पहिलो र दोश्रो डोज लगाएकै स्थानमा जानपनि अनिवार्य छैन ।

तेश्रो डोज लगाउनका लागि दोश्रो डोज लगाएको कम्तीमा चारसाता कुर्न सुझाव दिइएको छ । चारसाता नाघिसकेको छ भने जति समयपछि पनि तेश्रो डोज लगाउन सकिन्छ, त्यसका लागि कुनै समयसिमा तोकिएको छैन । तेश्रो डोज भ्याक्सिन पनि निशुल्क उपलब्ध रहेको छ ।

गत शुक्रबार सीडीसीले प्रतिरोध क्षमता कमजोर भएकाहरुका लागि भ्याक्सिनको तेश्रो डोज स्वीकृत गरेको थियो । एफडीएको स्वीकृति लगत्तै सीडीसीले पनि स्वीकृति प्रदान गरेको हो ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com