अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावास पूर्णरुपमा खाली गराउने काम सम्पन्न


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावास पूर्णरुपमा खाली गराइएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता नेड प्राइसले खसोखासलाई दिएको जानकारी अनुशार काबुलको दुतावासका सबै कर्मचारीहरुलाई त्यहाँबाट निकालेर सुरक्षित रुपमा स्थानान्तरण गरिएको छ ।

अहिले दूतावासका सबै कर्मचारीहरुलाई हमित कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बनाइएको सुरक्षित स्थानमा राखिएको छ । जसको परिधी अमेरिकी सेनाको सुरक्षामा रहेको जनाइएको छ । अब सबै अमेरिकी कूटनीतिज्ञहरुले अगस्त ३१ भित्र अफगानिस्तान छाड्ने अपेक्षा गरिएको छ ।

अमेरिकी सेनाले काबुलमा रहेको अमेरिकी दूतावासबाट अमेरिकी विदेशमन्त्रालयका कर्मचारीहरुलाई सुरक्षित रुपमा फिर्ता गर्नका लागि हजारौं सेनाहरु पठाएको थियो । ६ हजार अमेरिकी सेनाहरु विमानस्थल परिसरको सुरक्षामा खटिएका छन् ।

फाइल फोटो

विमानस्थलको पार्क गरिने स्थानमा अस्थायी रुपमा राहत दूतावास स्थापना गरेर भिसा प्रकृया अगाडि बढाउने र मूलुक छाड्ने प्रकृयाको काम भइरहेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्। त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। अफगानिस्तानमा युद्ध सकिएको तालिवानका प्रवक्ताको भनाई छ ।

अमेरिकाले आफ्नो दूतावासमा कार्यरत झण्डै ३ सय नेपालीलाई पनि स्वदेश फिर्ता गर्ने भएको छ । ती नेपालीहरु काबुलमा रहेको अमेरिकी दूतावासको सुरक्षार्थ खटिएका थिए । उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउने तयारी गरेको छ ।

अफगानिस्तानको काबुलमा झण्डै १५ सय नेपाली रहेको अनुमान छ। २०७३र०७४ यता अफगानिस्तानमा काम गर्नका लागि ६ हजार ६३७ नेपालीले स्वीकृति लिएका छन् भने यस वर्षको वैशाखदेखि साउन २९ गतेसम्म ३३० जनाले श्रम स्वीकृति लिएर अफगानिस्तान गएको तथ्यांकले देखाउँछ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com