काबुलमा रहेको अमेरिकी दूतावास ३६ घण्टाभित्र पूर्णरुपमा खाली गराइने


प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार

काबुलमा रहेको अमेरिकी दूतावास ३६ घण्टाभित्र लगभग खाली गराइने भएको छ । सबै अमेरिकी कूटनीतिज्ञहरुले अगस्त ३१ भित्र अफगानिस्तान छाड्ने अपेक्षा गरिएको छ ।

अमेरिकी सेनाले काबुलमा रहेको अमेरिकी दूतावासबाट अमेरिकी विदेशमन्त्रालयका कर्मचारीहरुलाई सुरक्षित रुपमा फिर्ता गर्नका लागि हजारौं सेनाहरु पठाइसकेको छ । राष्ट्रपति जो बाइडेनले थप एकहजार सेनाहरु अफगानिस्तान पठाएपछि अब कर्मचारीहरुको सुरक्षित निकाशीका लागि त्यहाँ पठाइएका सेनाको संख्या ५ हजार पुगेको छ ।

काबुलको दूतावासमा बाँकी रहनेहरु अब कूटनीतिक सुरक्षा सेवाका विशेष प्रतिनिधिहरुमात्र हुनेछन् । त्यस्तै राजदूत लगायत उच्च स्तरीय निर्णयकर्ताहरु पनि रहनेछन् । त्यस्तै संवेदनशील हार्ड ड्राइभहरु नष्ट गर्न, क्यामेराहरु हटाउन र दूतवासका आलार्महरु निस्कृय बनाउनका लागि केही सुरक्षा इन्जिनियरहरु पनि केहीदिन रहनेछन् ।

बाँकी सबै दूतावासका कर्मचारीहरु, विशेष आप्रवासी भिसा कुरिरहेकाहरु, स्थानीय कर्मचारी र उनीहरुका परिवारहरुलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा लगिने भएको छ । त्यहाँ विमानस्थल पार्क गरिने स्थानमा अस्थायी रुपमा राहत दूतावास स्थापना गरेर भिसा प्रकृया अगाडि बढाउने र मूलुक छाड्ने प्रकृयाको काम भइरहेको छ ।

तालिवानहरुले काबुलमा नियन्त्रण कायम गर्दै गर्दा अमेरिकी दूतावास हटाउने हतारो भएको हो । तालिवानहरुले अहिले अफगानिस्तानको एक तिहाई भाग नियन्त्रणमा लिइसकेको जनाइएको छ । शुक्रबार उनीहरुले हेल्मन्द प्रान्तको राजधानी पनि नियन्त्रणमा लिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com