अमेरिकामा सेप्टेम्बरको सुरुमै फाइजरलाई पूर्ण स्वीकृति दिने एफडीएको लक्ष्य


प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार

अमेरिकाको नियामक एजेन्सी एफडीएले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनलाई सेप्टेम्बरको सुरुतिरै पूर्ण स्वीकृति दिने लक्ष्यका साथ काम गरिरहेको छ । कोरोनाको संक्रमण बढ्न थालेपछि र भ्याक्सिन लगाउने दरमा सुस्तता आएपछि फाइजरलाई पूर्ण स्वीकृति दिने तालिकालाई अगाडि सारिएको हो । सेप्टेम्बरको पहिलो सातामा नै प्रकृयाले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोनाबिरुद्धका कुनै पनि भ्याक्सिनलाई प्रयोगको पूर्ण स्वीकृति दिइएको छैन । अहिलेसम्म आपतकालिन प्रयोगको स्वीकृतिमात्र दिइएको हो । अमेरिकामा मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनले प्रयोगको आपतकालिन स्वीकृति पाएका हुन् । अमेरिकाको कुल जनसंख्याको झण्डै ५० प्रतिशतले यी भ्याक्सिनहरु पूर्णरुपमा लगाइसकेका छन् ।

एफडीएले सेप्टेम्बर ६ वा त्यो भन्दा अगाडि नै पूर्ण स्वीकृति प्रदान गर्ने डेडलाइन तय गरेको छ । भ्याक्सिनलाई प्रयोगका लागि पूर्ण स्वीकृति प्रदान गरेपछि भ्याक्सिनप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ । धेरैभन्दा धेरैलाई भ्याक्सिन लगाउन प्रेरित गर्नका लागि पूर्ण स्वीकृतिको डेडलाइन अगाडि सारिएको हो । यस अगाडि सन् २०२२ को सुरुतिर पूर्ण स्वीकृति प्राप्त हुने अपेक्षा गरिएको थियो ।

अमेरिकामा कैयन व्यक्ति भ्याक्सिन लगाउनका लागि पूर्ण स्वीकृति कुरेर बसेका छन् । भ्याक्सिनको पूर्ण स्वीकृति प्रदान गर्नका लागि लामो समयको तथ्यांक हेरिन्छ भने यसको मापदण्ड पनि कडा रहेको छ । यद्यपी अहिलेसम्म अमेरिकामा १९२ मिलियन अर्थात् कुल जनसंख्याको ५८ प्रतिशतले कम्तीमा एकडोज भ्याक्सिन लगाइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com